कांग्रेस महाधिवेशन : फेरि सर्‍यो वडा र पालिका अधिवेशन मिति

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १३ : ३६
कांग्रेस महाधिवेशन : फेरि सर्‍यो वडा र पालिका अधिवेशन मिति

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिले तय गरेको वडा र पालिका अधिवेशनको मिति सं‌शोधन हुने भएको छ । समितिले वडा अधिवेशन १८ भदौ र स्थानीय तह पालिका हरुको अधिवेशन २७ भदौमा गर्ने तालिका सार्वजनिक गरे पनि पार्टीले यो तालिका संशोधन गर्ने निर्णय गरेको छ । 

कांग्रेस नेता मिन विश्वकर्माका अनुसार पार्टीले १८ भदौदेखि वडा अधिवेशन सुरु गरेर २३ गतेसम्ममा सक्नुपर्ने र पालिकास्तरीय अधिवेशन २७ भदौमा सुरु गरेर २९ गतेभित्र गरिसक्नुपर्ने गरी निर्णय भएको बताए । 

त्यसपछिका अधिवेशनहरु भने आयोगले तोकेकै मितिमा हुने उनको भनाइ छ । क्रियाशील सदस्यता विवरण सार्वजनिक भइनसकेको र कतिपय जिल्लामा व्यवस्थापन समस्या भएको भन्दै वडा र पालिका अधिवेशनको मितिमा लचक बन्ने निर्णय भएको उनको भनाइ छ । 

कांग्रेसले हालसम्म ५६ जिल्लाको मात्र क्रियाशील सदस्यको विवरण सार्वजनिक गरेको छ । २१ जिल्लामध्ये आज थप तीन जिल्लाको विवरण सार्वजनिक गर्ने तयारी कांग्रेसले गरेको छ । निर्वाचन समितिका संयोजक महादेव यादवले भने वडा र पालिका अधिवेशन क्रमश  १८ र २७ भदौमै हुने बताउँदै आएका छन् ।

प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी १ असोज, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन ५ असोजमा हुनेछ ।

यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन १० असोज, प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्म र केन्द्रीय महाधिवेशन आगामी ९ देखि १३ मंसिरसम्म काठमाडौंमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस