चितवनको रत्ननगरमा किसान कल सेन्टर स्थापना

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १८ : ००
चितवनको रत्ननगरमा किसान कल सेन्टर स्थापना

चितवन । किसानहरुको समस्या फोन मार्फत सामधान गर्ने उद्देश्यले चितवनको रत्ननगर नगरपालिकामा किसान कल सेन्टर सुरु गरिएको छ । नेपाल सरकार अन्तर्गत फलफुल तथा तरकारी मुल्य श्रृखला विकास आयोजनाको सहयोगमा कृषि र पशुपालक किसानहरुका लागि कल सेन्टर स्थापना गरिएको हो । सो नगरपालिकाका नगर प्रमुख नारायण वन र आयोजनाका प्रमुख चिरञ्जीवि अधिकारीले मंगलवार कल सेन्टरको सयुक्त रुपमा उद्घाटन गरेका छन् । 

किसानहरुलाई आइपर्ने समस्या र सामधानको लागि पैसा नलाग्ने टोल फ्रि नम्बर १६६०५६५१०११ मा फोन गर्न सक्ने व्यवस्था गरिएको छ । कल सेन्टर सञ्चालनको लागि नगरपालिकाले कृषि र पशुपालनका प्राविधिक राखेको छ । फोन मार्फत किसानले राखेको समस्यालाई पालिका स्तरका प्राविधिकले तत्काल सामधान गर्ने र प्राविधिकले समस्या सामधान गर्न नसके विज्ञहरुलाई समेत कल सेन्टरमा जोड्ने व्यवस्था मिलाइएको नगरपालिकाका कृषि अधिकृत प्रविण लामाले जानकारी दिए । 

किसान,पालिका प्राविधिक,विज्ञ र विज्ञ समुह सम्मलाई कल सेन्टरमा जोडेर कृषि र पशुपालनको समस्या सामधान गर्ने बृहद योजनाका साथ किसान कल सेन्टर स्थापना गरिएको उनले बताए । कार्यक्रमका प्रमुख अतिथि आयोजनका प्रमुख अधिकारीले रत्ननगर कृषि र पशुपालनको क्षेत्रमा अग्रणी स्थानमा रहेको र यहाँका जनप्रतिनिधिहरु कृषि र पशुपालन प्रति जिम्मेवार रहेका कारण चितवनमै पहिलो पालिका स्तरमा रत्ननगरमा कल सेन्टर सुरु गरिएको बताए । किसानलाई प्रविधि संग जोड्न आवश्यक रहेको भन्दै उनले आगामी दिनमा जिल्लाका अन्य पालिकाहरुमा पनि यसलाई जोड्न सकिने बताए । 

कार्यक्रममा मेयर नारायण वनले किसानहरुको समस्या फोन मार्फत सामधान गर्न कल सेन्टर स्थापना गरिएको बताए । हामीले यो किसानलाई उपहारको रुपमा ल्याएका हौं उनले भने किसानको पहिचानको लागि परिचय पत्रको समेत व्यवस्था गर्दै छौं । मेयर वनले विपन्न किसानहरुको जीवन स्तर उकास्न ५० प्रतिशतमा गाई वितरण गर्ने प्रक्रिया सुरु भइसकेको बताए ।

कार्यक्रममा रत्ननगर नगरपालिकाकी उपमेयर विमला दुवाडी,प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेल,भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख डा.दयाराम चापागाई,कृषि ज्ञान केन्द्र चितवनक प्रमुख युवराज पाण्डे,प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकार्ई चिचवनका प्रमुख विनोद भट्टराई चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्त,नगर स्तरीय दुग्ध उत्पादक संघका अध्यक्ष किशोर बगाले लगायतले मन्तव्य राखेका थिए । 

प्रतिक्रिया दिनुहोस