काठमाडौंको फोहोर आफैँ सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

सफल खबर संवाददाता

मंगलबार, १५ भदौ २०७८, १३ : ०८
काठमाडौंको फोहोर आफैँ सिसडोल पुर्‍याउन नागरिक अभियान सुरु

काठमाडौं । नागरिक अभियन्ताहरू आफैँले काठमाडौँको फोहोर सिसडोल डम्पिङ साइटसम्म पुर्‍याउने अभियान सुरु गरेका छन् । नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले विगत २५ दिनयता काठमाडौँ उपत्यकाको फोहोर उठाउन नसकेपछि सफाइ अभियानमा लागि परेका नागरिक अभियन्ताहरूले मंगलबारबाट काठमाडौँको फोहोर उठाइ सिसडोल डम्पिङ साइटसम्म  पुर्‍याउन अभियान सुरु गरेका हुन् । 

काठमाडौँको रत्नपार्कबाट सुरु गरिएको सो अभियानमा काठमाडौँ उपत्यकाको विभिन्न स्थानमा सफाइ अभियानमा जुट्दै आएका नागरिक समाजका अगुवाहरू रहेको विश्व सरसफाइ अभियन्ता राज मानवले जानकारी दिए । उनले वर्षायाममा फोहोरको व्यवस्थापन गर्ने काममा सरकार जिम्मेवार नभएपछि जिम्मेवार नागरिकको नाताले आफूहरुले सो फोहोर सिसडोलसम्म पु–याएर महानगरपालिकालाई फोहोरमुक्त बनाउने अभियानलाई अगाडि बढाएको पनि स्पष्ट पारे । अभियन्ता मानवले भने, ‘काठमाडौँ महानगरपालिकाको फोहोरलाई सडकमा राख्नु हुँदैन । कोभिडको महामारी भइरहेको यो अवस्थामा फोहोर सडकमा राख्ने कुरा आउँदैन । त्यसमा नागरिक आफै सजग होऔँ भन्ने अभियानमा साथ फोहोर उठाउने काम सुरु गरिएको हो । राजनीतिक दलहरूले हरेक भाषणमा यो फोहोरको समस्या समाधान हुन्छ भन्दै आए पनि यो समस्या समाधान हुन सकेन । त्यसैले काठमाडौँको फोहोरलाई जिम्मेवार नागरिकको हैसियतले आफैले व्यवस्थापन गर्नुपर्छ भनेर सफाइ अभियान सुरु गरिएको हो । म यस अभियानमा जुटेर नेपाललाई फोहोर मुक्त  बनाउने अभियानमा सहभागी हुन सबैलाई आह्वान गर्दछु ।’

सफाइ अभियानमा बागमती सफाइ अभियान, रुद्रमति सफाइ अभियान, महाराजगन्ज सफाइ अभियानलगायतका संस्थाहरू सहभागी भएका छन् । अभियानमा सहभागी भएका अभियन्ताहरूले ‘म मेरो देश फोहोर गर्दिनँ’ लेखिएका प्लेकार्डहरूसमेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस