पत्नीलाई एसिड आक्रमण गर्ने युवकलाई साढे १० वर्ष कैद

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १७ : ४५
पत्नीलाई एसिड आक्रमण गर्ने युवकलाई साढे १० वर्ष कैद

जनकपुरधाम । धनुषामा पत्नीमाथि एसिड आक्रमण गर्ने युवकलाई अदालतले १० वर्ष ६ महिना कैद सजाय सुनाएको छ । यस्तै पीडितलाई ६ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन र त्यति नै जरिवानाको सजाय पनि सुनाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका सञ्जीव साहले आफ्नै पत्नी आरती साहमाथि २०७७ कात्तिक २९ गते दीपावलीको दिन एसिड आक्रमण गरेका थिए ।

यसअघि २५ साउनमा धनुषा जिल्ला अदालतबाट दोषी ठहर भएका साहलाई अदालतले बिहीबार सजाय निर्धारण गरेको हो । अदालतका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको इजलासले सञ्जीवलाई कैद र जरिवाना तोक्ने आदेश दिएको अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिए ।साउन २५ गते न्यायाधीश शिवाकोटीकै इजलासले एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाइ दिएको थियो ।

प्रतिक्रिया दिनुहोस