सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट, १२ जना श्रमिक घाइते

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १५ : ४७
सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट, १२ जना श्रमिक घाइते

वीरगञ्ज । वीरगञ्जस्थित सर्वोत्तम स्टील कम्पनीको भट्टीमा बिस्फोट हुँदा १२ जना श्रमिक घाइते भएका छन् । घाइतेमध्ये सात जनाको अवस्था गम्भीर छ भने ५ जनाको अवस्था सामान्य रहेको पर्सा प्रहरीले जनाएको छ ।

कम्पनीको फलाम पगाल्ने भट्टी पड्किँदा तरल पदार्थ उछिट्टिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।वीरगञ्ज महानगरपालिका–२२ मनियारीमा रहेको उद्योगमा बिहीबार दिउँसो पौने एक बजेको समयमा भएको विष्फोटमा परी घाइते हुनेहरु अधिकांस भारतीय नागरिक रहेको र उनीहरुको बयोधा अस्पतालमा उपचार भइरहेको पाण्डेले बताए । उद्योगमा बिस्फोटपछि लागेको आगो दमकलको सहयोगमा नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको उनले बताए ।

घाइते हुनेमा भारत बिहार घर भएका ५२ वर्षीय विनोद पाण्डे, युपी लखनउका ५२ वर्षीय सन्तोष कुशवाहा, २० वर्षीय सुशील कुमार, ३७ वर्षीय मानसिया, ३० वर्षीय रा पुकार यादव, बारा छातापिपरा बस्ने २२ वर्षीय टिंकु दास छन् । उनीहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

भारत खुशीनगरका ३५ वर्षीय धिरु सहनी, ठेगाना नखुलेका २६ वर्षीय चिंकु दास, भारत युपी लखनउका १८ वर्षीय अमरनाथ सहनी, भारत बिहारका २१ वर्षीय दिपक कुमार र भारत दरभंगा बस्ने १८ वर्षीय रविंकु दासको अवस्था भने सामान्य रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस