राजमार्ग क्षेत्रमा आँपको संरक्षण हुन सकेन

मंगलबार, ०४ बैशाख २०७५, १३ : ३१
राजमार्ग क्षेत्रमा आँपको संरक्षण हुन सकेन

लहान ।  पूर्व–पश्चिम राजमार्ग सिरहा र सप्तरी सडकखण्डमा रहेका आँपको संरक्षण नहुँदा वर्षेनी लाखौँ रुपैयाँको घाटा हुँदै आएको छ । राजमार्गको दुवैतर्फको छेउमा रहेका रुखबाट वर्षेनी पर्याप्त मात्रामा आँप फल्ने गरे पनि डिभिजन सडक कार्यालय लहानले संरक्षणमा ध्यान नदिँदा त्यत्तिकै खेर गइरहेको छ । संरक्षण नहँुदा आँप केही काँचो अवस्थामै झर्छ भने अरु गाडीका चालक र यात्रुले टिप्ने गरेको सिरहाको गोलबजारका श्रीप्रसाद साह बताउनुहुन्छ ।

राजमार्ग छेउमा कति संख्यामा आँपको रुख छ भन्ने सडक डिभिजन कार्यालयसँग कुनै तथ्यांक छैन । अहिलेसम्म आँपको रुखको गणना नै गरिएको छैन । आँपको रुखको बोलपत्र आह्वान गरेर ठेक्का दिइनु पर्ने साहको भनाइ छ । “ठेक्कामा लगाउन सके पर्याप्त आम्दानी हुने सम्भावना छ,” उहाँले भन्नुभयो ।

सरकारले एक गाउँ एक उत्पादनमा जोड दिएपनि सिरहा र सप्तरीको राजमार्ग छेउमा हुर्केका आँपको संरक्षण हुन नसकेको लहान नगरपालिकाका किसान सत्रुधन चौधरी बताउनुहुन्छ । सिरहा–चोहर्वा सडक छेउमा रहेका तीन सयभन्दा बढी आँपका रुखको समेत संरक्षण हुन सकेको छैन । डिभिजन सडक कार्यालय लहानका प्रमुख रामकुमार देव जनशक्ति आभावका करण राजमार्ग छेउका आँपको संरक्षण गर्न नसकिएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “कर्मचारी परिचालन गरेर आँपको संरक्षण गर्न सम्भव छैन ।” केही वर्षअघिसम्म राजमार्ग क्षेत्रका महिलाकै अगुवाइमा उपभोक्ता समिति बनाएर आँपको संरक्षणको प्रयास गरिए पनि ती समूह अहिले निष्क्रिय बनेका कारण आँपको संरक्षण हुन नसकेको देवले बताउनुभयो ।

सिरहा र सप्तरीमा यसवर्ष मौसमले साथ दिएका कारण आँप उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । सिरहामा कूल पाँच हजार ६०० हेक्टर क्षेत्रफलमा आँप खेती हुँदै आएको छ । यसवर्ष ६७ हजार २०० मेट्रिक टन आँप उत्पादन हुने अनुमान गरिएको जिल्ला कृषि विकास कार्यालय सिरहाका प्रमुख रामचन्द्र यादव बताउनुहुन्छ । गतवर्ष कूल पाँच हजार ६०० हेक्टरमा ५० हजार ४०० मेट्रिक टन आँप उत्पादन भएको थियो । त्यस्तै, सप्तरीमा पनि यसवर्ष आँप उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्ला कृषि विकास कार्यालय सप्तरीका प्रमुख भगिरथ यादव यसवर्ष जिल्लामा करिब ५६ हजार मेट्रिक टन आँप उत्पादन हुने बताउनुहुन्छ ।(रासस)

प्रतिक्रिया दिनुहोस