काठमाडौँ । नेकपा एमाले पार्टीलाई एकताबद्ध गर्नको लागि दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । उनीहरुले ठाउँलाई गोप्य राखेका छन् । नेकपा एमालेले आज आइतबारका लागि बोलाएको केन्द्रीय समिति बैठक एक दिन पर सारेको छ । एमाले माधव नेपाल समूहले बैठक रोक्न भनेपछि बैठकलाई एक दिन पर सारिएको हो ।
तर एमालले आवश्यक तयारी पुरा नभएकाले एक दिन पर सारिएको जनाएको छ । माधव समूहलाई ल्याउन पनि सोमबारसम्म एक दिनलाई बैठक सारिएको ओली पक्षले जनाएको छ । पार्टी एकताको लागि विघटित कार्यदलका सदस्यहरु छलफलमा जुटेका छन् । सम्भवत आजै साँझसम्म अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाललाई भेट गराउने विघटित कार्यदलका एक सदस्यले भने ।
उनले माधव समुहका नेताहरुसँग छलफल समेत जारी रहेको बताए ।
आइतबार बिहानैबाट विघटित कार्यदलका नेताहरुबीच गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको छ । आज बेलुकासम्म कुनै परिणाम आउछ आशाका साथ गोप्य ठाउँमा छलफलमा जुटेको कार्यदलका एक सदस्यले भने । गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भएपनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो ।
साथै एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले अघि सारेका सांगठनिक गतिविधिले एकताको वातावरण बिथोलिने भन्दै त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको थियो । यता माधव नेपाल पक्षका कार्यदल संयोजक समेत रहेका नेता भीम रावलले शनिबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
राष्ट्रपतिसँगको भेटवार्तापछि नेता रावलले पार्टी अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गरेका हुन् । राष्ट्रपतिकबीचको भेटवार्तामा एमाले संकट, पार्टी एकता र वर्तमान सरकारबारे छलफल भएको बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ साउन २०७८, ११ : २४
लेखकबाट थप