राष्ट्रपति भण्डारी र एमाले नेता भीम रावलबीच भेटवार्ता हुनुको अर्थ

सफल खबर संवाददाता

आइतबार, २४ साउन २०७८, ०९ : ४६
राष्ट्रपति भण्डारी र एमाले नेता भीम रावलबीच भेटवार्ता हुनुको अर्थ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका उपाध्यक्ष भीम रावलबीच भेटवार्ता भएको छ। राष्ट्रपति भण्डारी र भीम रावलबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

पछिल्लो समय नेता रावलले कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गराउन नेपाल पक्षलाई दबाब दिइरहेका छन् । यसबीचमा राष्ट्रपतिसँग भेटघाट गर्नुलाई राजनीति वृत्तमा चासोको रुपमा हेरिएको छ । राष्ट्रपति भण्डारीले नेता रावलसँग पार्टी एकतामा मुख्य भूमिका निभाइदिन आग्रह गरेकी स्रोतको भनाइ छ । 

राष्ट्रपति निवास शितलनिवासमा शनिबार अपरान्ह राष्ट्रपति भण्डारी र रावलबीच भेटवार्ता भएको हो। उनीहरूबीच करिब एक घन्टा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । उनीहरुबीच पार्टीको विवाद, एकीकरणको प्रयास र कार्यदलले तयार पारेको १० बुँदेमा केन्द्रित भएर कुराकानी भएको स्रोतको भनाइ छ । 

नेता रावल वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिन्छन्। उनी माधव नेपाल समूहको केन्द्रीय बैठकमा उपस्थित भएर आफ्नो भनाइ राखिरहेका छन् । एमालेभित्र अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच लामो समयदेखि विभिन्न विषयमा विवाद छ। नेता नेपालका तर्फबाट कार्यदलको नेतृत्व रावलले नै गरेका थिए।

१० बुँदे सहमति भए पनि नेता नेपालले उक्त सहमति मानिरहेका छैनन् । एमाले ओली पक्षले सोमबार स्थायी र केन्द्रीय कमिटी बैठक राखेको छ। बैठकलाई स्थगित गर्न नेपाल पक्षले ओली पक्षलाई दबाब दिइरहेको छ । 

प्रतिक्रिया दिनुहोस