नेपाल पक्ष सरकारमा सहभागी नहुने

पत्रपत्रिकाबाट

शुक्रबार, १५ साउन २०७८, ०५ : १४
नेपाल पक्ष सरकारमा सहभागी नहुने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन महत्वपूर्ण भूमिका खेलेको नेपाल पक्षले सरकारमा सहभागिता नजनाउने औपचारिक जानकारीसमेत गठबन्धन दललाई दिएको छ ।

योसँगै अब नेपाल पक्षबिनाको सरकार गठन हुने भएको छ । यद्यपि, प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएको नेपाल समूहलाई सरकारमा सहभागी गराउन गठबन्धनको कसरत जारी छ ।

प्रधानमन्त्री देउवाका साथै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नेपाल समूहलाई जसरी पनि सरकारमा सहभागी गराउन प्रयत्नरत छन् ।

एमाले स्थायी कमिटीका सदस्य एवं नेपालनिकटका नेता रघुजी पन्तले पार्टी एकताको प्रक्रियामा रहेकाले सरकारमा जान नसकिने स्पष्ट पारे । नेता नेपालले स्पष्ट रूपमा सरकारमा सहभागी नहुने बताइसकेको उनको भनाइ छ ।

‘हिजोको अवस्था बेग्लै थियो । संविधान र लोकतन्त्रको रक्षाका लागि हामी प्रतिनिधिसभा पुनस्र्थापना र सरकार निर्माणको अभियानमा थियौं, सरकारलाई विश्वासको मत पनि दियौं,’ पन्तले भने, ‘अब अवस्था हिजोकै जस्तो छैन । पार्टीलाई एकताबद्ध बनाउने गृहकार्य भइरहेकाले सरकारमा जान सकिँदैन ।’ राजधानी दैनिकमा खबर छ । 

प्रतिक्रिया दिनुहोस