काठमाडौं । सरकारले मालवस्तुको ढुवानीमा राजस्व चुवाहट रोक्न मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) कार्यान्वयनमा ल्याए पनि भन्सारसँगको ‘सेटिङ’मा सवारीको दर्ता नै नगर्ने गरेको पाइएको छ।
विराटनगर भन्सार कार्यालयबाट न्यून मूल्याङ्कनमा जाँचपास भइसकेको दुई ट्याक्टर सामान भन्सार छली गरेको आशङ्का गर्दै राजस्वले नियन्त्रणमा लिएपछि उक्त सवारी साधन र सामान भीसीटीएसमा प्रविष्ट गरेको नभेटिएको हो। राजस्व अनुसन्धान विभागले भीसीटीएसको अनुगमन र कार्यान्वयन गर्ने जिम्मेवारी पाएको छ।
एक ठाउँबाट अर्को ठाउँमा मालसामान ओसारपसार गर्नुपूर्व ढुवानी गरिने वस्तुको विवरण राजस्वको केन्द्रीय सूचना प्रणालीमा प्रविष्ट गर्नुपर्ने हुन्छ तर आइतबार राति १० बजे राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीले नियन्त्रणमा लिएका दुईवटा ट्याक्टर र सामानको विवरण प्रविष्ट नगरेको पाइएको थियो।
भन्सार बिन्दुमा न्यून मूल्याङ्कनमा जाँचपास गरिएको कपडा, मिलमेसिन गरी, पाइपसमेत रहेका दुईवटा गाडीकै विवरण भीसीटीएसमा नभेटिएको हो। संस्थागत मिलेमतो देखियो, राजस्व अनुसन्धान एकाइ कार्यालय इटहरीका प्रमुख दीपक खड्काले भने, “व्यवसायी आफैँले प्रविष्ट गर्नुपर्ने हो। नत्र भन्सार बिन्दुमा भन्सार कार्यालयले गराउनुपर्ने थियो।” सामान भन्सार परिसरबाट बाहिर निस्किसकेपछि राजस्व एकाइ, भन्सार राजस्व गस्ती र नेपाल प्रहरीको टोलीले नियन्त्रणमा लिएको थियो।
प्रमुख खड्काका अनुसार भारतीय नम्बर प्लेटको बीआर ५० जी ५०५३ र को १ त ६८११ नम्बरको ट्याक्टर भन्सार बिन्दुमा जाँचपासपछि छुटेको थियो। त्यस क्रममा भन्सार कार्यालयबाट मुख्य राजमार्गसम्म आउने आईसीपी सडक खण्डमा गाडी नियन्त्रणमा परेको खड्काले जानकारी दिए । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०५ साउन २०७८, ०७ : ४९
लेखकबाट थप