मुद्दा मामिला अगाडि बढेको छ, हेरौं के हुन्छ : उपप्रधानमन्त्री पौडेल

सफल खबर संवाददाता

शनिबार, १२ असार २०७८, १३ : ४८
मुद्दा मामिला अगाडि बढेको छ, हेरौं के हुन्छ : उपप्रधानमन्त्री पौडेल

रुपन्देही । उपप्रधानमन्त्री, गृह तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसद विघटनको विषय अदालती प्रक्रियामा गएकोमा  असन्तुष्टि जनाएका छन् । शनिबार बुटवलमा आयोजित कार्यक्रममा एमाले उपमहासचिवसमेतको जिम्मेवारीमा रहेका पौडेलले यो बाध्यकारी अवस्था सरकारले चाहेर नआएको प्रष्ट्याएका थिए ।

‘मुद्दा मामिला अगाडि बढेको छ, हेरौं के हुन्छ ? हामीले वैकल्पिक व्यवस्थाका लागि यो विधि प्रयोग गरेका हौं,’ उनले भने । उनले संविधानले नै वैकल्पिक व्यवस्था दिन नसकेर सरकार बाध्य भएर नयाँ जनादेशमा जान लागेको बताएका छन् ।

‘प्रधानमन्त्रीले संसदमा आफूलाई विश्वासको मत माग्दा नपाएपछि मार्गप्रशस्त गर्नुभयो, निर्धारित समयमा वैकल्पिक सरकार गठन नभएपछि संसद विघटन गरेर नयाँ जनादेशमा जाने बाध्यकारी वैकल्पिक बाटो लिनुभएको हो,’ उनले भने, ‘अब चुनावको विकल्प छैन ।’

निर्वाचन घोषणाको विषयप्रति विपक्षी दलहरूले गरेको विरोधप्रति संकेत गर्दै उनले राजनीतिक दलहरू जनादेश लिने विषयमा डराएको आरोप लगाए । लोकतन्त्रको सुन्दर पक्ष निर्वाचन भएकाले सबैलाई निर्वाचनको तयारी गर्न समेत उनले आग्रह गरे ।

नागरिकको जीवन रक्षा गर्ने मुख्य उद्देश्यका साथ सरकारले निर्वाचन अगाडि खोपको व्यवस्था गरेर, मास्क खोलेर जान सक्ने गरी भोट हाल्ने‍ व्यवस्था मिलाउने योजना बनाएको बताए ।

पौडेलले राजनीतिक स्थायित्वका लागि नागरिकले दिएको अभिमत पूरा हुन नसकेको बताए। ‘राजनीतिक स्थायित्वका लागि गत निर्वाचनमा हामीले मत मागेका थियौं, विकासको एजेण्डामा अगाडि बढ्ने भनेर मत मागेका थियौं तर देशमा अनपेक्षित परिणाम आयो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस