काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यबीचको बैठक बस्दै

सफल खबर संवाददाता

बुधबार, १९ जेठ २०७८, १३ : ३७
काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यबीचको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षका केन्द्रीय सदस्यबीचको बैठक बस्दै छ ।पछिल्लो राजनीतिक घटनाक्रम र  पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा आज दिउँसो २ बजे इतरपक्षीय केन्द्रीय सदस्यबीच भर्चुअल मिटिङ हुन लागेको हो ।

केन्द्रीय सदस्य जीवन परियारका अनुसार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता कृष्णप्रसाद सिटौला र आफू पक्षीय केन्द्रीय सदस्यसँग छलफल गर्न लागेका हुन् ।कोरोना महामारी र क्रियाशील सदस्यताको काममा देखिएको ढिलासुस्तीले आगामी भदौं ७ ,१० का लागि निर्धारित महाधिवेशन प्रभावित हुने परिस्थिति बन्दै गएपछि पौडेलले संस्थापन इतर पक्षसँग छलफल गर्न लागेका हुन् ।

१३ जेठमा नेपाल प्रेस युनियनको स्थापना दिवसमा पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका थिए 
 । अहिले जति क्रियाशील सदस्य छन् तिनैबाट महाधिवेशन गर्ने सकिने पौडेलको पहिलो विकल्प  छ । यस्तै १३ औं महाधिवेशनका महाधिवेशन प्रतिनिधिबाटै पनि नयाँ नेतृत्व चयन गर्न सकिने उनले दोस्रो विकलप पनि अगाडि सारेका छन् ।

यस विषयमा सुरुमा आफू पक्षीय नेताहरुसँग छलफल गरेर आगामी जेष्ठ २४ गते बस्ने पदाधिकारी बैठकमा औपचारिक रुपमा प्रस्ताव लिने पौडेलको तयारी रहेको बुझिएको छ ।काँग्रेसको १४ औं महाधिवेशन बाध्यात्मक अवस्थामा पनि हुन नसक्ने परिस्थिति बनेपछि विकल्पको खोजी भइरहेको छ । 

किन भने पार्टीलाई संवैधानिक संकटबाट जोगाउन ०७८ भदौ ७–१० का लागि तय भएको १४ औं महाधिवेशन जसरी पनि सम्पन्न गर्नुपर्ने काँग्रेसको बाध्यता छ ।संविधानको धारा २६९ को उपधारा ४ ‘ख’ अनुसार पाँच वर्षभित्र दलले आफ्नो अधिवेशन गर्न नसकेमा ६ महिना म्याद थप्न सक्ने प्रावधानमा टेकेर काँग्रेसले वर्तमान कार्यसमितिको कार्यकाल भदौसम्म थप गरेको छ ।

यो वाध्यतामाथि क्रियाशील सदस्यता वितरण र नवीकरणमा देखिएको समस्या चुनौतीका रुपमा खडा भएको छ । त्यसमाथि अहिले कोरोनाको महामारीको अर्को चुनौती थपिएको छ । 

असारको तोस्रो साताबाट अधिवेशनको चरण सुरु हुनुपर्नेमा जेष्ठ दोस्रो साता बित्नलाग्दा पनि क्रियाशील सदस्यताको कामले पूर्णता पाएको छैन । यस्तो अवस्थामा अब कसरी महाधिवेशन सम्पन्न गर्ने भन्नेबारे काँग्रेसमा आन्तरिक छलफल चलिरहेको छ ।


 

प्रतिक्रिया दिनुहोस