चितवन । नेपालको पहिलो सहकारी बखान बहुउद्देश्यीय सहकारीको तीन बिघा जमिनमा बन्न लागेको बखान राष्ट्रिय सहकारी संग्रहालयको आज मंगलबार एक समारोहबीच पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिलान्यास गर्नु भएको छ । नौ करोड रुपैयाँ खर्च अनुमान गरिएको सहकारी संग्रहालयका लागि सरकारले पाँच करोड रुपैयाँ उपलब्ध गराएपछि संग्रहालयन निर्माणको काम अगाडि बढाइएको हो ।
सहकारी संग्रहालयको शिलान्यास एवं ६१ औं राष्ट्रिय सहकारी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलन र पश्चिम चितवनमा बस्ती बसाउने अगुवा बखानसिंह गुरुङको नाममा राष्ट्रिय सहकारी संग्रहालयको निर्माण हुनु चितवनवासीमात्र नभई देशभरका सहकारीकर्मीका लागि गौरवको विषय भएको बताउनु भयो । ‘सार्वजनिक, निजी र सहकारी आर्थिक विकासका तीन खम्बा हुन्’ सहकारीको विकासले नै समृद्धिको यात्रा तय हुने बताउँदै अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘सभ्यताको विकाससँगै धनी र गरीबबीचको खाडक कम गर्नुपर्छ । विश्वका धनी भनिएका देशमा गरीब र धनीबीच ठूलो खाडल छ ।’
संविधानमा समाजवाद उन्मुख भन्ने शब्दको मर्म धनी र गरीबबीचको खाडल कम गर्नु रहेको बताउँदै पूर्वप्रधानमन्त्री प्रचण्डले सहकारीलाई जोड दिएर सामाजिक न्याय स्थापित गर्न खोजिएको विचार व्यक्त गर्नुभयो । उहाँले देशमा विद्यमान बेथिति र आर्थिक अनियमितता हटाउन सुशासन र आर्थिक समृद्धि चाहिने उल्लेख गर्दै अब देश त्यही दिशातर्फ उन्मुख हुने बताउनु भयो । पूर्वप्रधानमन्त्री प्रचण्डले देशका अन्य भागमा रहेका सबै सहकारीकर्मीहरु एकपटक हेर्न आउने खालको संग्रहालय निर्माण गर्न सुझाव दिँदै यसको निर्माणका लागि अपुग रकम बजेटमै व्यवस्था गर्न पहल गर्ने बताउनु भयो ।
बखान बहुउद्देश्यीय सहकारीका अध्यक्ष मोहनसिंह लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष देवी थापा मगरले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा बखानसिंह गुरुङका नाति चन्द्रध्वज गुरुङ, राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य रविन्द्र केसी, प्रदेश सांसद कृष्ण भूर्तेल लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेवार, गुरुङ र थारु समुदायको नृत्य समेत प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस