चौधरी ग्रुपसँग चौबीस करोड रुपैयाँ असुल्न बिमा समितिलाई निर्देशन

सोमबार, १९ चैत्र २०७४, १६ : ५४
चौधरी ग्रुपसँग चौबीस करोड रुपैयाँ असुल्न बिमा समितिलाई निर्देशन

काठमाडौँ । राजधानी काठमाडौंको सतुङ्गलमा रहेको सिजी इलेक्ट्रोनिक्सले बिमा दाबीमा किर्ते गरेको प्रमाणित भएपछि उच्च अदालत पाटनले सिजी इलेक्ट्रोनिक्सलाई भरपाई गराएको २४ करोड रुपैयाँ असुल्न बिमा समितिलाई निर्देशन दिएको छ ।
उच्च अदालतले बिमा समितिको निर्णयलाई नै सदर गर्दै २४ करोड रुपैयाँ असुल्न निर्देशन दिएपछि चौधरी ग्रुपले किर्ते गरेको प्रमाणित भएको हो । सेयर होल्डरको लगानीमा संस्थापकले रजाई गरेको भन्ने उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियामक बिमा समितिलाई छानबिन गर्न आदेश दिएको थियो ।
अख्तियारको आदेशपछि तीन सदस्यीय छानबिन टोली गठन गरेर बिमा समितिले छानबिन सुरु गरेको थियो । समितिको छानबिनबाट ३४ करोडको मात्र क्षति भएको देखिएको बिमा समितिका नियमन विभाग प्रमुख शाम्भराज लामिछानेले जानकारी दिनु भएको छ ।


२०६९ असोजमा सतुङ्गल गोदाममा आगो लागेपछि सर्भेयरले अग्नि बिमा अन्तर्गत ५८ करोड क्षति भएको व्यहोरा प्रमाणित गरेका थिए । सोही अनुसार युनाइटेड इन्सुरेन्सले विभिन्न समयमा ३४ करोड दाबी भुक्तानी गरेको र २४ करोड रुपैयाँ बैंक ग्यारेन्टी गरेको थियो ।  

बिमा दाबी गर्ने सिजी इम्पेक्स, इओए र बिमा भुक्तानी गर्ने सिजी इलेक्ट्रोनिक्स दुबै कम्पनी विनोद चौधरीले नेत्ृात्व गरेको चौधरी समूहको पूर्ण स्वामित्वका हुन् । दाबी भुक्तानी दिने युनाइटेड इन्सुरेन्स चौधरीको झण्डै २७ प्रतिशत सेयर स्वामित्व भएको कम्पनी हो । एकै घरानाका दुई कम्पनीबीच बिमा दाबी र भुक्तानी गर्दा उसले नेपाली सर्भेयर नै खटाएर गलत सर्वेक्षण गरेको भन्दै सर्वेक्षक र अण्डरराइटरलाई  तीन हजारका दरले जरिबाना  समेत गरिएको छ ।
बिमा समितमै युनाइटेडको विरुद्धमा सिजीले उजुरी हालेको थियो । सिजीले बढी दाबी लिएको प्रमाणित भएपछि अब २४ करोड रुपैयाँ युनाइटेड इन्सुरेन्सलाई फिर्ता गर्नु पर्नेछ । अहिलेको बिमकको संस्थागत सुशासन सम्बन्धी निर्देशका २०७३ ले वित्तीय स्वार्थ गाँसिने ठाउँमा लगानी गर्न रोक लगाएको छ । यस आधारमा अब सिजीले युनाइटेडमा बिमा गर्न पाउँदैन ।

प्रतिक्रिया दिनुहोस