चितवन । पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनी २०७४ को तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघको परिसरमा रहेको चितवन एक्सपो सेन्टरमा ५ दिनसम्म संचालन हुने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आज (सोमबार) पत्रकार सम्मेलन मार्फत ओयोजकले जानकारी दिइएको छ । ‘दिगो आर्थिक विकासका लागि औद्योगिक प्रवद्र्धन’ भन्ने मुख्य नाराका साथ हुन लागेको प्रदर्शनीमा २ सय भन्दा बढी स्टल राखिने संघका अध्यक्ष भेषराज दुवाडीले जानकारी दिनुभयो । प्रदर्शनको प्रदेश नम्बर ३ का मुख्य मन्त्री डोरमणि पौडेलेले उदघाटन गर्ने कार्यक्रम छ ।
कृषिजन्य उद्योग, पर्यटन, स्वास्थ्य, प्रविधिलगायतका सेवाजन्य उद्योग एवम् उत्पादनमूलक उद्योगको प्रवर्द्धन गर्ने, राष्ट्रिय उत्पादनको अधिकतम उपयोग गर्न प्रोत्साहन गरी आयात प्रतिस्थापन गर्ने, नयाँ प्रविधिबारे जानकारी गराउँदै युवाहरुलाई उद्यमशिलतामा प्रोत्साहन गर्ने उद्देश्य प्रदर्शनीको रहेको अध्यक्ष दुवाडीले बताउनुभयो । प्रदर्शनीमा औद्योगिक बस्तुको प्रत्यक्ष अवलोकन, उत्पादन र उपभोक्ताबीच प्रत्यक्ष भेटघाट र परामर्श, उद्योग प्रवद्र्धन परिसर, व्यापार प्रवर्द्धन परिसर, महिला उद्यमी परिसर, रोजगार प्रवर्द्धन परिसर, कृषि तथा पशुजन्य उत्पादन परिसर, होटल तथा रेष्टुरेन्ट परिसर रहने छन् ।चितवनलाई मेडिकल सिटी बनाउने बारे र शक्तिखोरमा निर्माण हुन लागेको औधोगिक क्षेत्रको विषयमा सेमिनार हुनेछ ।
चितवन उद्योग संघले देशमा नै पहिलोपटक निर्माण गर्न लागेको औद्योगिक शिक्षालयका बारेमा अन्तरक्रिाया गरिने दुवाडीले जानकारी दिनुभयो । यसबाट विशेषगरी नवयुवा उद्यमीहरूलाई लाभ हुने विश्वास गरिएको छ । प्रदर्शनको टिकट दर ५० रुपैयाँ राखिएको छ । विद्यार्थीका लागि ३० रुपैयाँ मात्रै लिइनेछ । प्रदर्शनीमा महिला उद्यमीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाइएको छ । १० वटा स्टल लिएर परिसर निर्माण गर्नेहरुलाई २५ प्रतिशत छुट दिने संघको योजना छ ।
प्रतिक्रिया दिनुहोस