चितवन । भरतपुर महानगर प्रमुख रेनु दाहालले आन्तरिक आय एक अर्ब पुर्याउने काम महानगरका लागि चुनौतीपूर्ण बनेको बताउनु भएको छ । भरतपुर महानगरपालिकाले आज सोमबार महानगरको सभाकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महानगर प्रमुख दाहालले यस्तो बताउनु भएको हो ।
‘महानगर हुनका लागि आन्तरिक आय एक अर्ब हुनुपर्ने प्रावधान पूरा गर्नुपर्ने चुनौती हाम्रो सामु छ’ महानगर प्रमुख दाहालले भन्नुभयो, ‘विगतमा उपयुक्त मानिएका करको दर र दायरा अहिले अव्यवहारिक र अवैज्ञानिक देखिएकोले तिनलाई समय सापेक्ष बनाउन पुँजी र कारोबारको आधारमा केही करको दरलाई परिवर्तन गरेका हौं । जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा थोरैमात्र करको दर वृद्धि गरेका छौं ।’
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिच्छेद–९ मा कानुन बमोजिम कर निर्धारण गर्न सकिने प्रावधान छ । उक्त ऐनको विभिन्न दफामा सम्पत्ति कर, भूमि कर, घरबहाल कर, व्यवसाय कर, सेवा शुल्क लगायत निर्धारण गर्न सक्ने अधिकार स्थानीय सरकारलाई दिइएको छ । उक्त ऐनको दफा ६५ ले राजश्व परामर्श समितिको गठन विधि तोक्दै समितिमा छलफल गराएर करको दर नगर सभाबाट पारित गराई लाग गर्न सकिने उल्लेख छ ।
आफूहरुले ऐनले दिएको अधिकार प्रयोग गरेर कर निर्धारण गरी संकलन कार्य गरिरहेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो । उहाँले करको विषयमा कसैको कुनै विरोध नरहेको दाबी गर्दै छिटफुटरुपमा सुनिएको गुनासो सम्बोधन गरिने आश्वासन दिनुभयो । महानगर प्रमुख दाहालले महानगरको राजश्व परामर्श समितिमा छलफल गरेरै करको दर परिवर्तन गरिएको बताउनु भयो ।
पत्रकार सम्मेलनमा बोल्दै महानगरको कार्य प्रगति प्रस्तुत गर्दै महानगर प्रमुख दाहालले महिला तथा ज्येष्ठ नागरिकलाई भरतपुर अस्पतालमा बहिरंग टिकट निःशुल्क हुने व्यवस्था गरिएको बताउनु भयो । उहाँले पोखरा बसपार्क र भरतपुर केन्द्र्रीय बस टर्मिनलमा निःशुल्क वाईफाईको सुविधा उपलब्ध गराइएको, बाढी प्रभावितलाई तत्काल उद्धार र राहत वितरण कार्य गरिएको, फुटपाथ, पार्किङ र फोहोरमैला व्यवस्थापनको काम अगाडि बढाइएको जानकारी गराउनु भयो ।
महानगर प्रमुख दाहालले रिंगरोड, लिंकरोड, मनोरञ्जन पार्क लगायतका विकासका ३६ वटा कार्यक्रम सञ्चालन प्रकृया अगाडि बढाइएको बताउनु भयो । सबै वडामा प्रतिस्पर्धात्मक रुपमा विकासका कामहरु तीब्ररुपमा अगाडि बढिरहेको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘महानगरको अहिलेसम्मको कार्य प्रगतिबाट म स्वयं सन्तुष्ट छैन । संघीयताको अभ्यास नयाँ भएकोले हामीहरु अलमलमा छौं । यसमा धेरै जटिलता रहेछन् । यति हुँदाहुँदै पनि देशका अन्य महानगरभन्दा हामी एक कदम अगाडि नै छौं ।’
प्रतिक्रिया दिनुहोस