विजय खड्गी स्मृति गोल्डकप चितवनमा

रासस

आइतबार, ०१ चैत्र २०७७, १० : ००
विजय खड्गी स्मृति गोल्डकप चितवनमा

चितवन । वैदेशिक रोजगारका क्रममा कतारमा ज्यान गुमाएका फुटबलर विजय खड्गीको सम्झनामा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरिने भएको छ । जिल्ला फुटबल सङ्घको आयोजनामा स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिता २०७७ हुन लागेको हो ।

यही चैत १२ देखि २१ गतेसम्म नारायणगढको क्याम्पाचौरमा हुने प्रतियोगिताको तयारी तीव्रगतिमा भइरहेको जनाइएको छ । सङ्घका अध्यक्ष श्रीकृष्ण कार्कीले मैदान मिलाउनेदेखि प्यारापिट निर्माणको काम भइरहेको जानकारी दिए । प्यारापिट तीन हजार दर्शक क्षमताको हुनेछ ।

प्रतियोगितामा ‘ए’ डिभिजन लिगदेखि राष्ट्रिय टिमका खेलाडी सम्मिलित १० टोली सहभागी हुने सङ्घका महासचिव एवं प्रतियोगिताका सञ्चार संयोजक रामहरि ढकालले बताए। प्रतियोगितामा चितवनका दुईसहित हेटौँडा, पोखरा, काठमाडौँ, उदयपुर, बुटवल, नुवाकोट, सिन्धुली र प्रदेश नं २ को वाग्मती गरी १० टोली सहभागी हुनेछन् ।

प्रतियोगिताका विजेताले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ दि म्याचले रु पाँच हजार, प्रतियोगिताभरको उत्कृष्ट खेलाडीले रु २० हजार तथा विधागतरूपमा उत्कृष्ट हुने खेलाडीले रु १०–१० हजार प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्नका लागि रु २७ लाख ७३ हजार खर्च लाग्ने अनुमान गरिएको छ ।

एन्फा २०५७ ब्याचका खड्गीले नेपालबाट अण्डर–१३ र अण्डर–१४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । कमजोर आर्थिक अवस्थाका कारण वैदेशिक रोजगारका लागि कतार गएका खड्गीको ३२ वर्षको उमेरमा निधन भएको थियो । उनका एक छोरा छन् । प्रतियोगिताबाट बचेको रकम खड्गीका छोराको अध्ययनका लागि सहयोग गरिने आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस