आलोचनामा ‘विश्वकपको बल’ : डि गेयाले भने – बलको व्यवहार अनौठो

एजेन्सी

आइतबार, ११ चैत्र २०७४, १७ : ४४
आलोचनामा ‘विश्वकपको बल’ : डि गेयाले भने – बलको व्यवहार अनौठो

म्याड्रिड । स्पेनका गोलकिपर डेभिड डि गेयाले आगामी विश्वकपको बल एडिडास टेल्स्टारबारे आफ्नो धारणा सार्वजनिक गर्दै सो बल गोलकिपरहरुका लागि ‘खराब सपना’ जस्तै हुने टिप्पणी गरेका छन् ।

२७ वर्षीय म्यान्चेस्टर युनाइटेडका गोलकिपर अहिले विश्वकै उत्कृष्ट गोलकिपरको रुपमा चिनिन्छिन् तर जर्मनीविरुद्ध १–१ को बराबरी खेलपछि उनले उक्त बलको आलोचना गरेका हुन् । दोस्रो हाफमा थोमस मुलरले गरेको लामो दुरीको प्रहारलाई डि गेयाले बचाउन नसकेपछि जर्मनी खेलमा फर्किएको थियो । तर, उनले उक्त गोललाई बलको गल्ती नभएको बताए ।

यद्यपि, खेलमा बल अनौठो तरिकाले व्यवहार गरेको स्वीकार गरे । ‘बलको व्यवहार निकै अनौठो थियो,’ उनले भने, ‘यसमा अझै सुधार गर्न सकिन्थ्यो ।’
नापोली तथा स्पेनिस टोलीका अर्का गोलकिपर पेपे रेइनाले पनि बलको आलोचना गर्दै भने, ‘रसियामा हामी कम्तिमा लामो दुरीका ३५ गोल देख्ने छौँ किनभने यसलाई बुझ्न गोलकिपरहरुका लागि कठिन हुनेछ ।’
प्लास्टिक फिल्ममा बललाई कभर गरिएको हुँदा यसलाई पक्रन पनि त्यति नै गाह्रो भएको बताउँदै उनले यसले गोलकिपरहरुका लागि समस्या हुने जिकिर गरे ।

बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेगनले भने मिश्रित प्रतिक्रिया दिए । उनले बल हावामा धेरै घुम्ने स्वीकार गर्दै यसमा सुधार गर्न सकिने बताए । सँगै, विश्वकपअघि सम्म बलमा अभ्यस्त भइसक्ने पनि उनले आशा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस