भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान गर्न विवेकशील साझा पार्टीको माग

सफल खबर संवाददाता

आइतबार, २५ माघ २०७७, १६ : १५
भागरथी हत्याको ढिलो नगरी निष्पक्ष अनुसन्धान गर्न विवेकशील साझा पार्टीको माग

काठमाडौँ । विवेकशील साझा पार्टीले बैतडीको दोगडाकेदार गाउँपालिकामा १७ वर्षीय किशोरी भागरथी भट्टको बीभत्स हत्या भएको घटनाको  ढिला नगरी निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ । 

पार्टी प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गर्दै भनेका छन्– हत्या हुनुअघि बलात्कारको आशङ्का गरिएको यो घटनाको यथाशीघ्र निष्पक्ष र वैज्ञानिक अनुसन्धान गरी दोषीलाई कानुनको दायरामा ल्याउन स्थानीय प्रशासन र सरोकारवाला सुरक्षा निकायहरूसँग अनुरोध गर्दछौँ ।’ 

यस्ता घटनाहरूमा अवाञ्छित राजनीतिकरण हुने र दोषी पक्ष नै राज्यबाट संरक्षित हुने निकट विगत नदोहोरियोस् भन्नेमा पनि पार्टीले सम्बन्धित अधिकारीहरूलाई सचेत गराएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सहरदेखि गाउँसम्म शान्ति सुरक्षा कायम गर्न र नागरिकको जीउधनको रक्षा गर्न वर्तमान सरकार पूर्णतः असफल भएको छ। विवेकशील साझा पार्टी सम्पूर्ण नागरिक वर्ग र पार्टीका स्थानीय समितिहरूलाई भागरथी हत्याबारे बैतडीमा स्थानीय प्रशासन तथा प्रहरीको काम कारबाहीलाई मिहिन ढङ्गबाट नियाल्न आग्रह गर्दछ ।’

प्रतिक्रिया दिनुहोस