तोकिएको मितिमा निर्वाचन हुन गाह्रो : पोखरेल

सफल खबर संवाददाता

बुधबार, ०७ माघ २०७७, १७ : २०
तोकिएको मितिमा निर्वाचन हुन गाह्रो : पोखरेल

काठमाडौँ । पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले प्राविधिक पक्षको जटिलताका कारण तोकिएको मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका छन् । 

बुधबार काठमाडौँमा आयोजित प्रतिनिधि सभा विघटन र संवैधानिक अन्योल विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले प्राविधिक पक्षको जटिलताको कारण वैशाख १७ र २९ गतेको निर्धारित मितिमा निर्वाचन हुन गाह्रो रहेको बताएका हुन् । उनले कुनै चमत्कार भइहालेमा मात्रै निर्धारित मितिमा निर्वाचन हुने टिप्पणी गरे । 

पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कानुनी रुपमा फुट्ने गरी निर्वाचन आयोगमा गएको अवस्थामा पार्टीको विभाजन सम्बन्धी विवादको निरुपण गर्न नै अयोगलाई कम्तिमा ६० दिन लाग्ने बताए । निर्वाचनसम्बन्धी अरु प्रक्रिया टुंग्याउन पनि महिनौँ लाग्ने र समय अभावका कारण निर्धारित मितिमा निर्वाचन हुने कुरामा पत्याउन नसकिने उनको भनाई छ ।

पूर्व प्रमुख निर्वाचन आयुक्त पोखरेलले अदालतले संसद विघटन अथवा संसद पुर्नस्थापना जुन पक्षमा निर्णय दिएपनि मुलुकको जित नुहुने टिप्पणी गरे । मुलुक मुठभेडको राजनीतिमा जाने उनको भनाई छ । उनले निर्वाचन जितेर जाने नेताले सत्ता कब्जा गर्ने नभई सत्ता सञ्चालन गर्नुपर्ने भएकाले कब्जा हुन नदिन भएका त्रुटीहरुलाई सच्याउनुपर्ने बताए । 

उनले वर्तमान निर्वाचन प्रणालीमा सुधारको आवश्यकता रहेको औँल्याए । पोखरेलले संसदलाई बलियो बनाउनुपर्ने र राजनीतिबाट पुरानो पुस्ताका नेताहरुले बिश्राम लिनुपर्ने धारणा राखे ।

कार्यक्रममा बोल्दै पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले संसद विघटन संविधान विपरीत भएको बताइन् । सरकार गठन हुनसक्ने अवस्था छ भने विघटन गर्न नपाइने व्यवस्था संविधानले गरेको उनको भनाई छ । उनले यतिखेर देशको विकास निर्माणको काम पनि रोकिएको तथा यस्तो बेलामा बाहिरी हस्तक्षेप हुने योजना पनि बन्नसक्ने भएकाले मुलुक संकटमा रहेको बताइन् ।

प्रतिक्रिया दिनुहोस