ग्यास सिलिण्डर बिस्फोट हुँदा श्रीमान–श्रीमतीसहित तीन जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, ०२ माघ २०७७, ०७ : ४३
ग्यास सिलिण्डर बिस्फोट हुँदा श्रीमान–श्रीमतीसहित तीन जना घाइते

तुलसीपुर । तुलसीपुरमा ग्यास सिलिण्डर बिस्फोट हुँदा श्रीमान–श्रीमतीसहित तीन जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ वनकट्टा निवासी ३५ वर्षीय लालबहादुर वली र उनकी ३३ बर्षीया श्रीमती गीता वली गम्भीर घाइते भएका छन ।

घटनामा परि १३ वर्षीय सिजन खड्कापनि घाइते भएका छन।घाइते वलीका श्रीमान–श्रीमतीलाई बिहीवार दिउँसो दूई बजेतिर तुलसीपुरबाट हेलिकोप्टर मार्फत थप उपचारका लागि काठमाडौं लगिएको छ ।

१३ बर्षीय बालक खड्का भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको उपचार पछि डिस्चार्ज भइ सकेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरिक्षक भलक शर्माका अनुसार वलीले आफुले पालेको ५ दिने ५ सय चल्लालाई न्यानो बनाउनका लागि बालेको ग्यास सिलिण्डर बिस्फोट हुँदो आगलागी भएपछि वली दम्पतिसहित तीन जना घाइते भएका हुन ।

‘जाडोले चल्ला नमरुन भनेर कोठा न्यानो बनाउन भनेर वलीले ग्यास सिलिण्डर बाल्नु भएको रहेछ,’ शर्माले भने ‘ तर, त्यही ग्यास सिलिण्डर बिस्फोट भइ आगो लाग्दा उक्त घटना भएको रहेछ ।’ ग्यास सिलिण्डर रातभर बालेपछि धेरै तातेर बिस्फोट भएको अनुमान प्रहरीले गरेको छ ।

आगलागीबाट गोठ पुरै जलेको तथा घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । गोठमा राखेको दश बोरा दाना, ५ दिनका सबै ५ सय चल्लापनि जलेर नष्ट भएको प्रहरीले बताएको छ । बिहीवार बिहान ६ बजेतिर भएको आगलागीबाट ४ लाख बढी क्षति भएको अनुमान गरिएको प्रहरी निरिक्षक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस