नेदरल्याण्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य

शनिबार, ०३ चैत्र २०७४, १६ : ५७
नेदरल्याण्ड्सले नेपाललाई दियो १९० रनको लक्ष्य

आईसीसी विश्वकप छनोट अन्तर्गत सातौं स्थानको लागि भएको प्ले अफमा नेदरल्याण्डसले नेपाललाई जि तका लागि १९० रनको लक्ष्य दिएको छ । नेपालले केहि बेरमा जवाफी ब्याटिङ्ग थाल्ने छ । टस जितेको ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर १८९ रन बनायो ।

नेपालका लागि पेस बलर सोमपाल कामीले नेदरल्यान्ड्सलाई सुरुवातमा तीन झट्का दिएका थिए । १० ओभरमा २४ रन दिंदै उनले सर्वाधिक ४ विकेट लिए । त्यस्तै सन्दिप लामिछाने र ललित राजवंशीले दुईदुई विकेट लिए भने शक्ति गौचनले एक विकेट लिए । आज शक्ति वसन्त रेग्मीको स्थानमा टोलीमा समावेश भएका हुन् ।

नेदरल्यान्ड्सका लागि मध्यक्रमका ब्याट्सम्यान बास डे लिडले सर्वाधिक ३९ रनको योग्दान दिंदै आफ्नो टोलीको पारीलाई उकासेका थिए । त्यसैगरी भान डेर मर्व र स्कट एडवार्ड्सले समान २५ रनको योग्दान दिए ।

समूह ‘ए’ मा नेदरल्यान्ड्स एक जित दर्ता गर्दै चौथो स्थानमा रहेको थियो । त्यस्तै नेपालले पनि समूह ‘बि’ मा एक जित दर्ता गर्दै चौथो स्थानमा रह्यो । नेपालले अघिल्लो खेलमा पपुवा न्यु गिनीलाई पराजित गर्न सफल रह्यो । अर्को तर्फ, नेदरल्यान्ड्सले हङकङलाई हराएको थियो । नेदरल्यान्ड्सको सो जितले नेपालको एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पनि सुनिश्चित भएको थियो ।

आजको खेलमा दुवै टोलीलाई केहि गुमाउनु छैन । नेदरल्यान्ड्सले विश्व क्रिकेट लिगमार्फत नै एक दिवसीय मान्यता पाइसकेको थियो । यस अघि नेपाल नेदरल्यान्ड्ससँग चार पटक भिड्दा दुईमा जित र दुईमा हार बेहोरेको छ ।

प्रतिक्रिया दिनुहोस