काठमाडौं । नेपालको आइएमई लिमिटेड र भारतको मुथुत फाइनान्सबीच रेमिटेन्स सेवा सुरु भएको छ । बिहिबारदेखि यी दुई संस्थाबीच संयुक्त सेवा सुरु भएको हो । यो सेवा सुरु भएसँगै भारतमा रहेका लाखौं नेपालीहरुले ४ हजार ६ सय शाखाबाट नेपालमा पैसा पठाउन सक्ने जनाइएको छ । यसरी पठाइएको रकम नेपालका ७ हजार १ सय भन्दा बढी आइएमई एजेण्ट आउटेलटबाट सम्बन्धित व्यक्तिद्वारा सजिलै लिन सक्ने जनाइएको छ ।
यसका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक र भारतको आइबीएल बैंक साझेदार हुन सक्ने जनाइएको छ । रेमिट्यान्स सेवा कार्यक्रममा मुथुत फाइनान्सका तर्फबाट सो संस्थाका प्रबन्ध निर्देशक जर्ज एलेक्जण्डर मुथुत र प्रमुख महाप्रबन्धक के आर बिजिमोनको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालस्थित आइएमईका तर्फबाट ब्यापार प्रबद्धन प्रमुख सुबास तामाङको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुथुत फाइनान्सका प्रमुख महाप्रबन्धक बिजिमोनले नेपालको पहिलो र ठूलो रेमिटेन्स कम्पनी आइएमईसँगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको रकम नेपालमा रहेकाहरु र तिनका परिवार र आफन्तलाई भुक्तानी गर्न सजिलो हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस