राजविराज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले विद्युत् चुहावट नियन्त्रण अभियानबाट रु १८ लाखभन्दा बढी असुली गरेको छ । विगत आठ महिनादेखि सञ्चालन गरेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत प्राधिकरणले जरिवाना स्वरुप उक्त रकम असुल गरेको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए ।
विद्युत् पोलमा हुकिङ गरेको र मिटरमा चोरी गरेकोबाट रु १८ लाख १२ हजार २८१ जरिवाना असुल गरेको उनले बताए । विद्युत् चोरी गर्ने ३५४ जनामाथि कारवाही गरेर प्रत्येक व्यक्तिबाट रु पाँच हजारका दरले समेत जरिवाना रकम असुलउपर गरेको प्रमुख साहले जानकारी दिए ।
सो अभियानअन्तर्गत हालसम्म जिल्लाका विभिन्न गाउँ, र शहरमा सिधै हुकिङ गरेर प्रयोग गरेका तीन हजारभन्दा बढी व्यक्तिको घरमा हुकिङ हटाइएको प्राधिकरणले जनाएको छ । -रासस
प्रतिक्रिया दिनुहोस