महानगर सचेतना अभियान : शहरमा पर्चा र ब्यानर टाँसेमा कारबाही गरिने

सफल खबर संवाददाता

आइतबार, २८ मंसिर २०७७, १४ : ४२
महानगर सचेतना  अभियान  : शहरमा पर्चा र ब्यानर टाँसेमा कारबाही गरिने

ललितपुर । ललितपुर महानगरपालिकाले शहरी सुन्दरता कायम गर्ने उद्देश्य सहित नगर सचेतना अभियान शुरु गरेको छ । 

सडक छोउमा राखिने पर्चा, पम्प्लेट र होडिङ्ग बोर्डले शहरको सुन्दरतालाई कुरुप बनाएको भन्दै महानगरले त्यस्ता समाग्री टाँस्ने र झुण्ड्याउने काम नगर्न सचेतना अभियान शुरु गरेको हो ।

आइतबार एक कार्यक्रम आयोजना गरी महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले अभियानको शुभारम्भ गरे । सो कार्यक्रममा बोल्दै मेयर महर्जनले शहरलाई कुरुप बनाउने खालका काम गर्ने जो सुकैलाई कारबाहीको दायरामा ल्याइने बताए ।

कुनैपनि व्यक्ति वा संघसंस्थाले पर्चा, पम्लेट, ब्यानर टाँस्ने वा झुण्ड्याउने काम गरेमा कारबाही गरिने स्पष्ट पारे । यस्तै फुटपाथमा जथाभावि फोहोर फाल्ने, थुक्ने, पसल राख्ने, सवारी साधन पार्किङ्ग गर्ने, निर्माण समग्री राख्ने लगायतका कार्य गर्नेहरुलाई पनि महानगरले कारबाहीको दायरामा ल्याउने भएको छ ।

सडक छेउमा रहेका विजुलीका पोलहरुमा जथाभावि तार झुण्ड्याउने काम भइरहेकोले त्यसको व्यवस्थापन गरिने मेयर महर्जनले बताए । उनले स्वच्छ र सफा नगर निर्माणका लागि महानगरबासिको सहयोग अनिवार्य रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस