बलत्कारका घटनाले विद्यार्थीहरु मानसिक त्रासमा

सफल खबर संवाददाता

शुक्रबार, १९ मंसिर २०७७, १३ : ०८
बलत्कारका घटनाले विद्यार्थीहरु मानसिक त्रासमा

भरतपुर । पछिल्लो समय दिनप्रतिदिन बढ्दै गएको लैगिंक तथा यौनजन्य हिंसाका कारण विद्यार्थीहरुमा नकरात्मक प्रभाव परेको विद्यालय स्तरका विद्यार्थीहरुले बताएका छन् । 

आर्दश नारी विकास केन्द्र र आर्दश गृह नेपालको संयुक्त आयोजनामा  भएको भर्चुअल कार्यक्रममा सहभागि विद्यार्थीहरुले हिंसाका घटनाले आफुहरुको बालमस्तिक र पढाईमा नकरात्मक असर गरेको बताए । सामाजिक आचरण र संस्कार सिक्नुपर्ने बेला दिनप्रतिदिन हुने बलत्कारका घटनाले आफुहरुमा कतिबेला अपराधिको शिकार बन्छु भन्ने त्रास बढेको उनीहरुको भनाई थियो । 

राज्यले बालबालिकाहरुको बालमस्तिकमाथि खेलवाड गरेको आरोप लगाउंदै उनीहरुले बालिका बलत्कार गरी हत्या गर्ने अपराधीलाई कडा कार्वाही गर्न माग समेत गरे । बालीका तथा किशोरी माथिको बलत्कारको घटना नरोकिए आफुहरु खरो रुपमा सरकारविरुद्ध उत्रिन बाध्य हुने चेतावनी समेत उनीहरुले दिए । “लैगिंक हिंसा अन्त्यको प्रतिवद्धता, व्यक्ति, समाज र सबैको ऐक्यवद्धता” भन्ने नारासहित नेपालभर लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मनाइरहदाँ संस्थाले भर्चुअल माध्यमबाट “लैंगिक तथा यौनजन्य हिंसाका कारण बिद्यार्थीमा पर्ने प्रभाव र राज्यको भुमिका” विषयक अन्तर मावि राष्ट्रिय खुला बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुर्व झाप देखि पश्चिम बैतडी सम्मका ७ वटै प्रदेशका विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा सत्यवती माध्यमिक विद्यालय तनहुका छात्र गौरव सापकोटा प्रथम स्थान हासिल गरे । यसैगरि सरस्वती मावि कमलटार झापाकी आयुश्मा सोडारी द्धितिय, नारायणी नमुना माविकी सुभेच्छा लामा तृतीय र मंगलमय मावि झापाकी रञ्जना बस्नेतले सान्त्वना स्थान हासिल गरे ।

यसैगरि कालिका मावि रुपन्देहीका प्रतिभा भण्डारी र महेन्द्र नमुना उच्च माविका सन्देश पौडेल प्रतियोगिताको उत्कृष्ठ विद्यार्थी ठहरिए । प्रतियोगिताका प्रथम, द्धितिय ,तृतीय र सान्त्वनाले क्रमश, दश हजार, सातहजार,पाँच हजार र तीन हजार प्राप्त गरे । यसैगरि प्रस्तुतीकरण उत्कृष्ठ हुने २ जनाले दुई दुई हजार प्राप्त गरे ।

प्रतियोगिताका उत्कृष्ठलाई  संस्थाका अध्यक्ष मीना खरेलले प्रोत्साहन स्वरुप सो रकम दिएकी हुन् । प्रथम पुरस्कारको व्यवस्था सामाजिक एवं व्यवसायीक व्यक्ति रक्की खरेलले गरेका हुन् भने द्धितिय पुरस्कार युवा व्यवासायी सुजन ओझा, तृतीय पुरस्कार आदर्श नारी क्लिनीक तथा परामर्श केन्द्र र सान्त्वना पुरस्कार संस्थाका सदस्य शोभा खड्का र सजना तिमल्सेनाले गरेकी हुन्।

प्रतियोगिताको निर्णायकमा नेपाल सरकारका उपसचिव भरतपुर महानगरपालिका सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ती कुमारी पौडेल,शिक्षाविद् : तुलध्वज खतिवडा र डाक्टर नम्रता पाण्डे रहेका थिए ।

कार्यक्रममा अधिबक्ता फुलमाया रानाभाटले प्रतियोगिताको समग्र मुल्याकंन गरेकी थिइन् । यस्तैगरि , लैगिंक हिंसा विरुद्धको १६ दिने अभियान मुल समारोह समिति चितवनका संयोजक एवं जिसस उपप्रमुख,मुना कुमारी श्रेष्ठले विशेष मन्तव्य व्यक्त गरेकी थिइन् । भरतपुर महानगरका उपप्रमुख पार्वती शाह लगायतको कार्यक्रममा सहभागिता रहेको थियो । यसैगरि धन्वन्तरी मेडिकल हलको तर्फबाट व्यवस्थापकीय खर्च सहयोग प्राप्त भएको थियो भने आदर्श अभियन्ता निश्चल सापकोटाले सम्पुर्ण प्राविधिक व्यवस्थापन गरेका थिए ।

उत्कृष्ठ हुनेले नगद सहित प्रमाणपत्र प्राप्त गरेका छन् । पुरस्कृत हुने विद्यालयका विद्यार्थीहरुलाई संस्थाले आइएममी मार्फत रकम पठाउने संस्थाका अध्यक्ष खरेलले बताए । पछिल्लो समय महिला हिंसा र अपराधका घटना बढीरहेका छन् । देशमा संविधान आयो महिला मैत्री कानुन पनि बन्यो भनियो तर प्रभावकारी कार्यान्वयन नहुदाँ दिनप्रतिदिन हिंसाका घटना बढिरहेका छन् । अझ घटनालाई राजनीतिकरण गर्ने परिपाटी हावी हुदाँ र अपराधीलाई राजनीतिक संरक्षण मिल्दा थप चुनौती देखिएको छ ।
 

प्रतिक्रिया दिनुहोस