नौ महिनादेखि बन्द चलचित्र क्षेत्र खोल्न अधिकारीको आग्रह

सफल खबर संवाददाता

मंगलबार, ०९ मंसिर २०७७, १३ : ००
नौ महिनादेखि बन्द चलचित्र क्षेत्र खोल्न अधिकारीको आग्रह

file photo

काठमाडौँ । चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन् ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन । त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् । 

अध्यक्ष अधिकारीले सरकारले बजेटमार्फत चलचित्र क्षेत्रलाई समेटन नसकेपनि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत समेटीएको तर अहिले सम्म कुनैपनि फाइदा लिन नसकेको बताए । उनले भने, ‘साँच्चै भन्ने हो भने हामीलाई बजेटले पनि समेटेन अति प्रभावितमा । राष्ट्र बैंकले चलचित्र क्षेत्रलाई अति प्रभावित क्षेत्रमा समेटिदियो । तर त्यसको अहिले सम्म के फाइदा हो भन्ने कुरा आएको छैन ।’ 

चलचित्र क्षेत्र बन्द हुँदा कलाकार, श्रष्टासर्जकहरुलाई समस्या भइरहेको जानकारी अर्थ मन्त्रालयमा समेत गराइसकेको उनले बताए । सरकारले चलचित्र क्षेत्रलाई सञ्चालन गर्न दिए जनस्वास्थ्य मापदण्ड पूरा गरी सञ्चालन गर्न आफूहरु तयार रहेको पनि अधिकारीले बताए । 

उनले भने, ‘गीत, संगीत, श्रष्टा, सर्जक, कलाकार, प्राविधिक यी सबैको समस्या छ । यसकारणले कुनै न कुनै बाटो चाहियो भनेर हामीले धेरै ठाउँमा कुरा राखेका छौं । हाम्रो भनाई अब हामीलाई छायांकन खोलिदिनुस् हामी विश्व स्वास्थ्य संगठन, नेपाल सरकार र सीसीएमसीको मापदण्डलाई हामीले अपनाएर सिनेमा छायांकनमा जान सक्छौं भन्ने कुरा पनि लगेर हामीले बुँदागत यो यो गर्न सक्छौं र यो क्षेत्रलाई सुरक्षित राख्न सक्छौं भनेर हामीले प्रस्तुत गरिसकेका छौं ।’

अध्यक्ष अधिकारीले चलचित्र क्षेत्रले मनोरन्जन मात्रै नभएर कला संस्कृति भेषभूषा र पर्यटनलाई समेत समेटेको क्षेत्र भएको भन्दै तत्काल खोल्न माग गरे । त्यसको साथसाथै आफू उद्योग वाणिज्य महासंघमा रहेर चलचित्र क्षेत्रको समस्या समाधानमा लाग्न खोजिरहेको उनले बताए । 

यसअघि पनि महासंघमा रहेर सरकार, निजी क्षेत्र र चलचित्र क्षेत्रभित्र रहेको दुरीलाई मेटाउँदै चलचित्र क्षेत्रलाई सेवा मुलक उद्योगको रुपमा स्थापित गर्न सफल भएको उनले बताए । उनले भने, ‘मलाई चलचित्र क्षेत्र, चलचित्र निर्माता संघका साथिहरु र त्यसको साथसाथै चलचित्र समन्वय समिति र उद्योग वाणिज्य महासंघको विशेष सहयोगले नै राष्ट्रिय मान्यता उद्योगमा हाल्न सफल भयौं ।’

चलचित्रलाई पर्यटन र कृषि क्षेत्रसँग जोड्ने काम गर्नका लागि आफूले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको अधिकारीले बताए । चलचित्र क्षेत्रलाई यसअघि राष्ट्रिय मान्यता प्राप्त उद्योगमा लैजान सफल भएको बताउँदै अध्यक्ष अधिकारीले अव भने राज्यका प्राथमिकता प्राप्त क्षेत्रले पाउँदै आएको सुविधा पाउने अवस्थामा पु¥याउन आफुले महासंघमा बसेर काम गर्न चाहेको बताए । 

प्रतिक्रिया दिनुहोस