सुनिल थापा बने नेपाली कांग्रेसको सहमहामन्त्री

सफल खबर संवाददाता

शुक्रबार, २८ कार्तिक २०७७, १८ : ३७
सुनिल थापा बने नेपाली कांग्रेसको सहमहामन्त्री

काठमाडौं । सुनिल थापा नेपाली कांग्रेसको सहमहामन्त्री भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक नेता सूर्यबहादुर थापाका छोरा सुनिल थापालाई शुक्रबार बसेको काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकले सहमहामन्त्रीमा मनोनित गरेको हो । राप्रपाको एकता भएपछि असन्तुष्ट बनेका सुनिल थापा केही महिनाअघि आफ्नो समूहका नेतासहित कांग्रेस प्रवेश गरेका थिए । 

थापासँगै प्रवेश गरेका अन्य  ७ जना केन्द्रीय सदस्य र २ जनालाई आमन्त्रित केन्द्रीय सदस्यको जिम्मेवारी दिने निर्णय भएको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

केन्द्रीय सदस्यको जिम्मेवारी पाउने नेताहरुमा रामप्रसाद भट्टराई (मोरङ), विष्णुविक्रम थापा (सिन्धुपाल्चोक), बाबुराम बस्नेत (भोजपुर), वृजलाल यादव (बारा), किरण गिरी (काठमाडौं), टि.एन. योगी (ललितपुर), दिलीप राई (झापा) रहेका छन् भने कैलालीका आशाराम चौधरी र कपिलवस्तुका राजेशबहादुर सिंह आमन्त्रित केन्द्रीय सदस्य रहेका छन् ।

यस्तै बैठकले सांसद सूर्यबहादुर केसीको निधनका कारण रिक्त समानूपातिक कोटाको सांसदमा मोहन पाण्डेलाई पठाउने निर्णय गरेको छ ।

यस्तै बैठकले क्रियाशील सदस्यताको विवाद विधिसम्मत टुंग्याउने निर्णय गरेको छ । अब मंसिर मसान्तसम्म ७७ वटै जिल्लाले केन्द्रलाई सदस्यताको सूची पठाउने निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस