‘पुष्प उद्यमीलाई बचाऔँ, स्वदेशी फूलको माला लगाऔँ’

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०७७, १७ : ०८
‘पुष्प उद्यमीलाई बचाऔँ, स्वदेशी फूलको माला लगाऔँ’

चितवन । आजको दुई दिनपछि तिहार पर्व सुरु हुन्छ । तिहारकै समयमा मालाको लागि सबैभन्दा बढी फूलको खपत हुन्छ । तिहारकै लागि भनेर फूलखेती गरेका किसानहरु यसवर्ष देशभर ४०० जनाको हाराहारीमा छन् । वर्षभरि नै फूलखेती गर्ने किसानहरु देशभर झन्डै ८०० छन् । 

यो वर्ष देशभर नै १७५ हेक्टरमा फूलखेती गरिएको छ । कोभिड १९ का कारण यस वर्ष अन्य क्षेत्रका उद्यमीहरुजस्तै पुष्प उद्यमीहरु पनि ठूलो मारमा परेका छन् । लकडाउनको बेला कति उद्यमीहरुको फूल नबिकेर बारीमै कुहाउन बाध्य भएका थिए । कोभिडकै कारण कति किसानले कौडीको भाउमा फूल बेच्न विवस पनि भएका थिए । उद्यमीहरुले तिहारको समयमा केही राहत मिल्ने अपेक्षा पनि गरेका छन् ।

तिहारको मुखमा समग्र देशमा फूलखेतीको अवस्था राम्रो छ । अहिलेको तिहारमा स्वदेशी फूलको माग बढाउन फ्लोरिकल्चर एशोसोसिएसन नेपालले पहल गरिरहेको छ । समग्र तिहार र स्वदेशी फूलको उत्पादनको विषयमा फ्लोरिकल्चर एसोेसिएसन नेपालका केन्द्रीय अध्यक्ष कुमार कसजु श्रेष्ठसँग सफल खबरले गरको कुराकानी, उनकै शव्दमा जस्ताको त्यस्तै । 

यस वर्षको तिहारमा स्वदेशकै फूलले पुग्छ 

तिहार मुखमा आइसकेको छ । तिहारको लागि फूलको कारोबार हुन पनि सुरु भइसकेको छ । अहिलेको तिहारमा स्वदेशमै उत्पादन भएको फूलले पुग्छ भन्ने हाम्रो पूरा विश्वास छ । यसवर्षको तिहारमा फूलको माग कम हुने र माग भएजतिको फूल यहीँको उत्पादनले सजिलै पुग्ने देखिन्छ । गत वर्ष बाहिरबाट फूल आयात गरिएको थियो । विगतका वर्षहरुमा नपुगेर फूल आयात गरियो, यसवर्ष पुग्छ । आयात गर्नैपर्दैन । 

कोभिड १९ का कारण पुष्प उद्यमीहरु ठूलो मारमा परेका छन् । तिहारमा फूलको राम्रो व्यापार हुन सक्यो भने र पुष्प उद्यमीहरुलाई ठूलो राहत मिल्छ । त्यसैले म सबै नेपाली दाजुभाई दिदीबहिनीहरुलाई विनम्र आग्रह गर्दै भन्छु, पुष्प उद्यमीलाई बचाऔँ, तिहारमा स्वदेशी फूलको माला लगाऔँ ।

१५ लाख मालाको माग 

यसवर्षको तिहारमा १५ लाख माला बन्ने फूलको माग हुने अनुमान गरिएको छ । गत वर्ष २५ लाख माला बन्ने फूलको माग भएको थियो । गत वर्ष २२ लाख माला बन्ने फूलको उत्पादन स्वदेशमै भएको थियो । जम्मा ३ लाख मालामात्र बाहिरबाट आयात भयो । अहिले त माग नै कम छ, स्वदेशी फूलले नपुग्ने कुरै छैन । माग धान्न सक्ने फूलको उत्पादन स्वदेशमै हुने भएकाले फूल आयात गर्नै पर्ने नै छैन । राज्यका निकायहरुलाई हामीले आयातित फूल रोक्न भनेका छौँ । सजिलै यहीँको उत्पादनले पुग्छ । यस वर्ष कोभिडका कारण माग पक्का घट्छ । 

16full-flowers-tihar-2076

आयातित मालाको प्रयोग नगरौँ 

स्वदेशकै फूलले पुग्ने भएका कारण आयातित विदेशी माला हामीलाई चाहिँदैन । आयातित कृत्रिम माला सबै प्लास्टिकको हुन्छ । त्यो न गल्छ, न सड्छ । वातावरणको लागि पनि प्लास्टिकको कृत्रिम माला उपयोगी हुँर्दैन । स्वास्थ्यको लागि पनि कृत्रिम मालाको प्रयोग गर्नु फाइदा छैन । त्यसकारण पनि स्वदेशमै उत्पादन भएको मगमली र सयपत्रीको माला प्रयोग गर्न सबैमा मैले विनम्र आग्रह गर्दछु । स्वदेशी फूलले पुग्ने भएकाले आयातित माला हामी नष्ट गर्ने रणनीति बनाएका छौँ, पहिला स्वदेशी फूलको प्रयोग गरौँ, नपुगे बल्ल आयात गर्ने हो । पहिला नै विदेशी मालाको आयातलाई रोक्न राज्यको भूमिका होस् भन्ने हामीले चाहेका छौँ ।

कहाँकहाँ छ फूलखेती ?

नेपालमा पछिल्लो समय धेरै ठाउँमा फूलखेती गरिएको छ । काठमाडौँ उपत्यका, चितवन, मकवानपुर, काभ्रे, सर्लाही, सिरहा, पाल्पा, सिन्धुली, धनुषा, पूर्वी तराई र पश्चिम तराईका जिल्लाहरुमा फूलखेती भइरहेको छ । व्यावसायिकरुपमा फूलखेती भइरहेको छ । विगतमा पुष्प मेलाहरु गरेर फूलखेती गर्ने किसानहरु बढाएका छन् । किसानहरु पनि वर्सेनि बढिरहेका छन् । 

२०५१ सालमा तिहारको समयमा ८० प्रतिशत फूल आयात हुने गरेको थियो । जम्मा स्वदेशी फूलको उत्पादन २० प्रतिशत थियो । २०७७ सालमा आइपुग्दा ९१ प्रतिशत फूलको उत्पादन स्वदेशमै भएको छ । जम्मा ९ प्रतिशतमात्र आयात छ, तर अहिले कोभिडका कारण माग पनि कम भएकाले एउटा माला बन्ने फूल पनि आयात गर्नपर्दैन । हामी आत्मनिर्भरको मुखमा छौँ, आगामी वर्ष नेपाल फूलमा आत्मनिर्भर हुने पक्कापक्की जस्तै छ, किनभने फूल उद्यमीको संख्या बढिरहेको छ । 

4full-flowers-tihar-2076एउटा मालाको ७० रुपैयाँ 

यस वर्षको तिहारमा उपभोक्ताको हातमा पुग्दा एउटा मालाको ७० रुपैयाँसम्म पर्छ । गत  वर्षको तुलनामा फूलको मूल्य खासै बढेको छैन । गत वर्ष पनि ६५ रुपैयाँ एउटा मालालाई परेको थियो । यतिबेला कोभिडका कारण पनि पुष्प उद्यमीले धेरै फाइदा लिन सक्दैनन् । कम आम्दानीमै फूल बेचिरहेका छन् । अन्त्यमा पुष्प उद्यमीलाई बचाउन उनीहरुलाई विस्थापित हुनबाट जोगाउन पनि यसवर्ष स्वदेशकै फूलको माला लगाउन म पटकपटक सबैमा अनुरोध गर्दछु । 

प्रतिक्रिया दिनुहोस