गोर्खाली शिक्षक माधव मरहठ्ठाको निधन, अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

सफल खबर संवाददाता

बुधबार, २६ कार्तिक २०७७, १५ : १०
गोर्खाली शिक्षक माधव मरहठ्ठाको निधन, अध्यक्ष प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नकेपा) का नेता तथा नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष माधव मरहठ्ठाको आज बिहान स्टार अस्पताल, ललितपुरमा भएको असामयिक निधनले आफूलाई दुखित तुल्याएको बताएका छन् । 

अध्यक्ष प्रचण्डद्वारा आज बुधबार जारी शोक वक्तव्यमा भनिएको छ, ‘नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध, र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका कमरेड मरहठ्ठाको नेपालको राजनैतिक परिवर्तनमा ठूलो योगदान रहेको छ । विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी कमरेड मरहठ्ठाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेल्नुभएको भूमिका प्रशंसनीय छ ।’ 

शोक वक्तव्यमा दिवंगत शिक्षक मरहठ्ठाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गरिएको छ ।

यसैबीच, श्री जनशक्ति मावि नामजुंग गोरखाले आफ्नो विद्यालयको पूर्व प्रधानाध्यापक पालुगंटार दामी चौर निवासी माधव मरहठ्ठाको ६७ वर्षको अल्पायुमै असामयिक निधन भएकोमा दुःख व्यक्त गरेको छ । प्रधानाध्यापक चिरञ्जीवी काप्रीले आज एक समवेदना पत्र प्रकाशन गरी आफ्नो विद्यालय परिवार मर्माहत भएको जनाउँदै दिवंगत मरहठ्ठाको चीर शान्तिको कामना र परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस