चितवन बार अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी विजयी

सफल खबर संवाददाता

शनिबार, २२ कार्तिक २०७७, ११ : १८
चितवन बार अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी विजयी

चितवन । जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा रामकृष्ण अधिकारी निर्वाचित भएका छन् । 

शुक्रबार राति सम्पन्न मतगणनाको परिणाम अनुसार प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) का उमेदवार अधिकारी अध्यक्षमा निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्दी नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) का डा. हरिहर पोख्रेललाई पराजित गर्दै अधिकारी अध्यक्षमा निर्वाचित भए । अधिकारीले १ सय ७ मत र पोख्रेलले ८० मत प्राप्त गरे ।

एशोसिएसनको उपाध्यक्षमा मुन्नाविक्रम खाती निर्वाचित भएका छन् । डिएलएका उमेदवार उनले आफ्ना निकटतम प्रतिद्वन्दी पिएलएका रामचन्द्र देवकोटालाई पराजित गरे । खातीले ९६ मत ल्याउँदा देवकोटाले ८२ मत प्राप्त गरे । 

सचिवमा पिएलएका उमेदवार विनोद मिश्र विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी डिएलएका श्रीराम दवाडी पराजित भए । मिश्रले ९९ र दवाडीले ८२ मत ल्याए । कोषाध्यक्षमा बद्रीनाथ पण्डित र सहसचिवमा शोभा भट्टराई निर्वाचित भएका छन् । 

जिल्ला बार एशोसियसनको २१ औँ जिल्ला अधिवेशनले दुई वर्षे कार्याकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

प्रतिक्रिया दिनुहोस