सत्तारुढ दलका नेता कोरोनालाई बेवास्ता गरेर पार्टीभित्रको झगडा जित्न लागे : राणा

सफल खबर संवाददाता

सोमबार, १७ कार्तिक २०७७, १८ : २०
सत्तारुढ दलका नेता कोरोनालाई बेवास्ता गरेर पार्टीभित्रको झगडा जित्न लागे : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपां) का अध्यक्ष पशुपति शम्शेर राणाले सरकार र सत्तारुढ दल कोरोना महामारी व्यवस्थापनलाई पूर्ण बेवास्ता गरेर पार्टीभित्रको झगडा जित्न मात्र उदृत रहेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

‘हजारौं मानिसलाई कोरोना भाइरस संक्रमण भइरहेको छ । काठमाडौंमा मात्र दैनिक झण्डै १५०० संक्रमित छन्,’ राप्रपा अध्यक्ष राणाले सोमबार ट्वीट गर्दै भने । ‘तर रोग निवारण, व्यवस्थापनमा सरकारको पूर्ण बेवास्ता छ, कुनै ध्यान छैन ।’

सत्तारुढ नेकपाभित्र अनवरत जारी सत्ताकेन्द्रित झगडाले जनस्वास्थ्य र जनकल्याण पूर्ण ओझेलमा परेको भन्दै राणाले सरकारको लापरवाहीको आलोचना गरेका छन् ।

उनले भने, ‘पार्टीभित्रको झगडा कसरी जित्ने बाहेक अरू केही चिन्ता देखिन्न । सरकार र सत्तारुढ दलबाट यस्तो लापरवाही कति दिन चल्ने ?’

प्रतिक्रिया दिनुहोस