क्लिन फिड कात्तिक ७ देखि, निर्देशन नमाने कारबाही

पत्रपत्रिकाबाट

विहीबार, २९ असोज २०७७, ०८ : २९
क्लिन फिड कात्तिक ७ देखि, निर्देशन नमाने कारबाही

काठमाडौँ । विज्ञापन नियमन गर्ने ऐनमा भएको व्यवस्थाबमोजिम कात्तिक ७ देखि विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने ‘क्लिन फिड’ व्यवस्था लागू गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरोकारवालालाई निर्देशन दिएको छ । मन्त्रालयले बुधबार सार्वजनिक सूचना जारी गर्दै कात्तिक ७ देखि क्लिन फिड लागू नगरे कारबाही गर्ने जनाएको छ ।

मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले विज्ञापन नियमन गर्ने ऐनमा भएको व्यवस्थाबमोजिम क्लिन फिड लागू गर्न सरकारले तयारी गरिसकेको बताए । ‘विदेशी च्यानल प्रसारण गर्नेहरूलाई असारमा अनुमतिपत्र नवीकरण गराउने बेला नै कात्तिक ७ देखि क्लिन फिड व्यवस्था लागू गर्ने सर्तमा हस्ताक्षर गर्न लगाएका छौं,’ उनले भने, ‘क्लिन फिड लागू भएरनभएको अनुगमन गर्न मन्त्रालयले सबै तयारी पूरा गरिसकेको छ ।’

क्लिन फिड लागू गर्न आवश्यक यन्त्र र उपकरण पनि विदेशी च्यानलको नेपालमा प्रसारण अनुमति पाएका संस्थाले नै व्यवस्था गर्नुपर्नेछ । सरकारले अघिल्लो वर्ष पारित गरेको विज्ञापन ऐनले कात्तिक ७ देखि नेपालमा प्रसारण हुने विदेशी टेलिभिजनले क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था गरेको छ ।

‘कात्तिक ७ भित्र विज्ञापनरहित प्रसारण गर्नुपर्ने व्यवस्था ऐनमै गरिएको र एक वर्षका लागि तयारी अवधिसमेत व्यवस्था भएकाले ऐनको मर्म र भावनाअनुरूप विज्ञापनरहित प्रसारण गर्न सबै संघसंस्थालाई अनुरोध गरिएको छ,’ मन्त्रालयद्वारा बुधबार जारी सूचनामा भनिएको छ, ‘कात्तिक ७ देखि विज्ञापनरहित प्रसारण नभए प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरासमेत जानकारी गराइन्छ ।’

संसद्को विकास तथा प्रविधि समितिले असोज ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई कात्तिक ७ देखि क्लिन फिड लागू गर्न निर्देशन दिएको थियो । समितिले नेपाली टेलिभिजन च्यानलको प्रवर्द्धन गर्न विदेशी च्यानलमा नेपाली विज्ञापन प्रसारण गर्न नपाइने प्रावधान राख्न पनि सरकारलाई भनेको थियो । कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस