त्रिदेशीय टी–२० शृंखला : भारतद्वारा बंगलादेश ६ विकेटले पराजित

एजेन्सी

शुक्रबार, २५ फागुन २०७४, १३ : ४८
त्रिदेशीय टी–२० शृंखला : भारतद्वारा बंगलादेश ६ विकेटले पराजित

कोलम्बो । श्रीलंकामा जारी त्रिदेशीय टी–२० शृंखलाको दोस्रो खेलमा भारतले बंगलादेशमाथि ६ विकेटको सहज जीत निकालेको छ ।

बंगलादेशले प्रस्तुत गरेको १४० रनको लक्ष्य भारतले १८.४ ओभरमा मात्र ४ विकेटको नोक्सानीमा पछ्याएको हो । भारतको जीतमा ओपनर शिखर धवनले सर्वाधिक ५५ रनको योगदान दिए । उनले ४३ बलमा ५ चौका र २ छक्काको मद्दतले अर्धशतक पूरा गरे ।

त्यस्तै, सुरेश रैना र मनिष पाण्डेले क्रमशः २८ र २७ रनको योगदान दिए । बंगलादेशका लागि रुबेल हुसैनले २ विकेट लिए ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको बंगालदेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३९ रन बनाएको थियो । बंगलादेशका लागि लिटन दाशले सर्वाधिक ३४ रन बनाए भने शब्बिर रहमानले ३० रन बनाए ।

भारतका लागि जयदेव उनाडकटले ३ तथा विजय शंकरले २ विकेट लिए । पहिलो खेलमा भारत आयोजक श्रीलंकासँग ५ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस