‘मैले पढ्न नपाएर के भयो र ? सात सय विपन्नलाई पढाइसकेँ’

सफल खबर संवाददाता

बुधबार, २१ असोज २०७७, १७ : ५३
‘मैले पढ्न नपाएर के भयो र ? सात सय विपन्नलाई पढाइसकेँ’

चितवन । विपन्न परिवारमा जन्मेकै कारण पढ्ने चाहना हुँदाहुँदै बीचमै पढाई रोकियो । उच्च शिक्षा हासिल गर्नै पाएनन् । स्कुले शिक्षामै उनको पढाईमा ब्रेक लाग्यो – कारण थियो, परिवारको आर्थिक अवस्था कमजोर । 

उनी अर्थात् खैरहनी नगरपालिका निवासी मुरलीप्रसाद गजुरेल । आफूले पढ्न नपाएपनि उनले हालसम्म सात सय जना विपन्न विद्यार्थीलाई पढाइसकेका छन् । विपन्नलाई पढाउनकै लागि उनले खोलेको अक्षयकोषमा एक करोड १० लाख जम्मा भइसकेको छ । उनी भन्छन्, ‘मैले पढ्न नपाएर के भयो र ? सात सय विपन्न परिवारका छोराछोरीलाई पढाउन सकेँ, यसैमा खुसी छ, अझै हजारौँ विपन्न परिवारका छोराछोरीलाई उच्चशिक्षा पढाउँछु ।’

सामाजिक अभियन्ताका रुपमा परिचित गजुरेल विपन्न विद्यार्थीहरुको लागि भगवान बनेका छन् । अरुलाई पढाउनकै लागि उनी दिनरात नभनी खटिइरहेका छन् । 

एसएलसी पनि उत्तीर्ण गर्न नपाएका गजुरेल अहिले कक्षा ११ र १२ का गरिव तथा जेहेन्दार विद्यार्थीलाई उच्चशिक्षा प्रदान गर्न तल्लिन छन् । गजुरेलको एक्लो प्रयासमा खैरहनी माध्यमिक विद्यालयमा जन्मोत्सव तथा स्मृति छात्रवृत्ति अक्षयकोष स्थापना गरेर विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका छन् । 

नुवाकोटको तिगाउँमा २०१९ साल जेठ १५ गते जन्मिएका गजुरेलको पहिचान नै समाजसेवा बनिसकेको छ । आर्थिक अवस्थाका कारण आफूले उच्चशिक्षा हासिल गर्न नपाएर  जीवनको उर्वर समय साउदी अरबमा श्रम गरेर फर्किएका उनी आफ्नोजस्तो पीडा अरूले भोग्नु नपरोस् भन्दै खैरहनी माविमा उच्चशिक्षा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिमार्फत् पढाउन सक्रिय भएका हुन् । 

२०६७ पुसमा आफैँले एक हजार रुपैयाँ जम्मा गरी थालेको अभियान १० वर्ष पूरा भइसकेको छ । यस अवधिमा करिब एक करोड १० लाख रुपैयाँ जम्मा भइसकेको उनी बताउँछन् । विशेषगरी उनले जन्मदिनको अवसर पारेर धेरै रकम संकलन गरेका छन् । कोषमा १ हजारदेखि माथि सहयोग हुँदै आएको छ । जन्मदिनको अवसरमा एक हजार रुपैयाँ लिन उनी आफै मोटरसाइकलमा आफ्नै खर्चमा हेटौँडा र नवलपरासीसम्म पुग्ने गरेका छन् । 

गजुरेल भन्छन्, ‘आर्थिक अवस्थाकै कारण कुनै पनि बालबालिका पढाईबाट वञ्चित हुन नपरोस् भनेर कोष स्थापना गरेको हुँ, त्यही कोषबाट विद्यार्थीले पढ्न पाएका छन् ।’ 

साउदीबाट थोरै भएपनि कमाएर ल्याएको पैसाले छोराछोरीलाई राम्रो शिक्षा दिए । दुई छोराहरु अहिले अष्ट्रेलियामा बस्दै आएका छन् । पछि आर्थिक अवस्था पनि राम्रो भयो तर उनलाई मनमा खड्किरहन्थ्यो, पैसाकै कारण कसैले पढ्न त पाएका छैनन् भन्ने । त्यही सोचका साथ उनले २०६७ सालमा खैरहनी माध्यामिक विद्यालयमा अक्षयकोष बनाएका हुन् । 

‘घरको आर्थिक अवस्था कमजोर भएका कारण १० कक्षाभन्दा धेरै पढ्न सकिएन । केही कमाउन भनेर साउदी गएको बेलामा अशिक्षाका कारण के कति हन्डर, ठक्कर र हेपाइ खानु पर्दोरहेछ भन्ने भोगियो । पछि नेपालमै आएर बसेँ । शिक्षा क्षेत्रमा केही गरौं भन्ने लाग्यो’ गजुरेलले सुनाए ।

प्रतिक्रिया दिनुहोस