नोबेल अस्पताल विराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २० असोज २०७७, ०९ : ३१
नोबेल अस्पताल विराटनगरमा उपचाररत दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल अस्पतालको आइसोलेसनमा उपचाररत दुई जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका–६ का ५० वर्षीय पुरुष र रतुवामाई नगरपालिका ८ का ४५ वर्षीय पुरुष रहेका छन् । 

नोबेल अस्पतालका जनसम्पर्क अधिकृत नारायण दाहालका अनुसार क्यान्सर रोगबाट पीडित कानेपोखरीका ५० वर्षीय पुरुषलाई ज्वरो आएपछि सोमबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको र भेन्टिलेटमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको बताए । 

यस्तै, मधुमेहका दीर्घ रोगी रतुवामाईका ४५ वर्षीय पुरुषलाई ज्वरो, निमोनिया र टाइफाइड भएपछि असोज १३ गते उपचारका लागि अस्पताल भर्ना भएको दाहालले बताए । अस्पताल भर्ना भएपछि स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको  र आईसीयूमा राखेर उपचार गर्दा गर्दै मंगलबार बिहान साढे दुई बजे मृत्यु भएको अस्पतालले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस