कांग्रेसका नेताहरुलाई कोरोना देखिएपछि बैठक स्थगित, २५ गते बस्ने

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, १५ : १६
कांग्रेसका नेताहरुलाई कोरोना देखिएपछि बैठक स्थगित, २५ गते बस्ने

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरुलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बैठक स्थगित गरिएको छ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा असोज १५ गते गरिएको पिसिआर परिक्षणका क्रममा पार्टीका केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, गगनकुमार थापा, जंगीलाल राय, कल्पना चौधरी र आमन्त्रित केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ लगायत अन्य विविध जिम्मेवारीमा रहेका नेताहरुलाई कोरोना पोजेटिभ देखिएको थियो ।  

काठमाडौं बाहिर परीक्षण  भएका केन्द्रीय सदस्यहरु– रमेश रिजाल र अजयकुमार चौरसियामा कोभिड—१९ पोजिटिभ देखिएको छ । नेताहरुलाई कोरोना देखिएपछि स्वास्थ्य मापदण्डलाई ध्यानमा राखी पार्टीको २०७७ असोज १९ गते अपरान्ह दुई बजेका लागि बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको नेपाली कांग्रेसले जनाएको छ ।

बैठक असोज २५ गते दिउँसो दुई बजेका लागि निर्धारित गरिएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।