आइसिसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत समूह 'बी'को खेलमा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ। बिहीबार जिम्बावेको बुलावायो मैदानमा भएको खेलमा नेपाललाई स्कटल्यान्डले ४ विकेटले पराजित गरेको हो। यसअघि नेपाल पहिलो खेलमा जिम्बावेसँग १ सय १६ रनले पराजित भएको थियो।
नेपालले दिएको १ सय ५० रनको सामान्य लक्ष्य स्कटल्यान्डले ४१.३ ओभरमा ६ विकेटको क्षतिमा पार गर्यो।
स्कटल्यान्डका लागि कप्तान केल कोइट्जरले नटआउट ८८ रनको योगदान दिए। उनले १ सय ३६ बलमा ७ चौका र ३ छक्का प्रहार गरे।
अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन्।
यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ४७.४ ओभरमा सबै विकेटको क्षतिमा १४९ रन मात्रै बनाएको थियो । खराब प्रदर्शन गरेको नेपालको १४ रन हुदा ४ विकेट पतन भएको थियो । नेपालका लागि कप्तान पारस खड्काले इनिङ्स उकास्ने प्रयास गरेका थिए । कप्तान पारसले ६३ रन बनाएपनि अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन् । पारसले ९ चौका प्रहार गरे ।
त्यस्तै, नेपालका लागि बसन्त रेग्मीले अविजित २४ रन बनाए । नेपालका लागि सोमपाल कामीले १८ रन बनाए । त्यस्तै, रोहित पौडेलले १५, युवा खेलाडी सन्दीप लामिछाने ६ रनए पनि अग्रपंतिका ब्याट्सम्यान चल्न सकेनन् ।
नेपालका ज्ञानेन्द्र मल्ल १ रनमा आउट भए । एकपछि अर्को विकेट पतन भएको नेपालका दिलिप नाथ ४, अरिफ शेख २ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरी पनि १ रनमा आउट हुदा अनुभवि ब्याट्सम्यान शरद भेषवाकर शुन्य रनमा नै आउट भए ।
नेपालले आफ्नो तेस्रो खेल शनिबार अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल सुपर सिक्समा पुग्नका लागि अबको दुई खेल जित्नै पर्ने हुन्छ । नेपालले आफ्नो अन्तिम खेल हङकङसँग १२ मार्चमा खेल्दैछ ।
३ खेलमा शतप्रतिशत जित हात पारेको स्कटल्याण्ड भने सुपर सिक्समा प्रवेश गरेको छ ।
प्रतिक्रिया दिनुहोस