रद्द भयो यो वर्षको पद्मश्री पुरस्कार

सफल खबर संवाददाता

मंगलबार, १३ असोज २०७७, ०७ : ३९
रद्द भयो यो वर्षको पद्मश्री पुरस्कार

काठमाडौँ । यस वर्षको पद्म श्री साहित्य पुरस्कार र पद्मश्री साधना सम्मान रद्द गरिएको छ । सोमबार खेमलाल–हरिकला प्रतिष्ठानले एक विज्ञप्ति निकाल्दै यस वर्ष दुवै पुरस्कार रद्द गरिएको बताएको हो ।

प्रतिष्ठानले असोज ११ गते पद्मश्री साहित्य पुरस्कार सञ्जीव उप्रेतीको उपन्यास ‘हंस’ लाई र पद्मश्री साहित्य सम्मान मोदनाथ प्रश्रितलाई दिने घोषणा गरेको थियो । पुरस्कार घोषणापछि केही विवाद र असहज परिस्थिति सिर्जना भएको र सम्मानित र पुरस्कृत दुवै सर्जकले छुट्टाछुट्टै विज्ञप्ति निकाली पुरस्कार अस्वीकार गर्ने घोषणा गरेकाले प्रतिष्ठानको आकस्मिक बैठकले यस वर्षको पुरस्कार रद्द गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले बताएका छन् ।

पुरस्कार घोषणा गर्दा कसैको भावनामा ठेस पुऱ्याउने उद्धेश्य नभएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो उद्धेश्य कसैको भावना र संवेदनामा ठेस पुऱ्याउने कदापि थिएन । सम्मानित र पुरस्कृत स्रष्टा, साहित्यप्रेमी तथा शुभचिन्तक महानुभावहरुको आत्मसम्मानमा पर्न गएको ठेसप्रति प्रतिष्ठान क्षमायाचना गर्दछ ।’

 

प्रतिक्रिया दिनुहोस