काठमाडौं । अर्थविद्हरुले नेपालको आर्थिक विकासको ढाँचा बनाउन सुरु गरेका छन । अर्थविद् डा. पुण्यप्रसाद रेग्मीले मुलुकमा भएको राजनीतिक परिवर्तनसँग मेल खानेगरी मुलुकको आर्थिक विकासको ढाँचा बनाउन सुरु गरिएको जानकारी दिएका हुन् ।
नेपाल विकास अनुसन्धान प्रतिष्ठानले आईतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले संघीयता अनुकूल हुनेगरी नेपाल विकासको आर्थिक ढाँचा बनाउन लागिएको स्पष्ट पारे । विषयगत विज्ञहरुसँग सुझाब लिई २ महिनाभित्र तयार हुने गरी नेपालको आर्थिक विकासको ढाँचा बनाउन लागिएको हो । सरकारलाई मुलुक बनाउन सहज हुनेगरी सो काम गर्न लागिएको प्रतिष्ठानका संस्थापक समेत रहेका रेग्मीले जानकारी दिए ।
अर्थविद्हरुले प्रदेश र स्थानीय तहका सबै निकायमा पुगेर सुझाव संकलन गरी आर्थिक ढाँचा तयार पार्नेछन् । प्रतिष्ठानले कर्णाली प्रदेशमा भने यस अघिनै त्यहाँको आर्थिक ढाँचाका विषयमा आवश्यक सुझाव दिने काम सम्पन्न गरिसकेको छ । विषयगत टिम परिचालन गरेर सुझाव लिने कामलाई अघि बढाइएको पनि अर्थविद रेग्मीले जानकारी दिए ।
प्रतिष्ठानले कृषि, भौतिक पूर्वाधार, पर्यटन, उर्जा, उद्योगलाई मुलुकको आर्थिक विकासको मुख्य स्रोतको रुपमा पहिचान गरिसकेको छ । सोही क्षेत्रका सम्भावनालाई समेटेर आर्थिक विकास ढाँचा तयार गरी सरकारलाई बुझाउने प्रतिष्ठानको योजना छ ।
प्रतिक्रिया दिनुहोस