सगरमाथा आरोहणका लागि आवश्यक सहयोग गरिदिन अध्यक्ष प्रचण्डसँग आग्रह

आइतबार, २० फागुन २०७४, १२ : ५०
सगरमाथा आरोहणका लागि आवश्यक सहयोग गरिदिन अध्यक्ष प्रचण्डसँग आग्रह

काठमाडौं । पाँच जना नेपाली महिला पत्रकारहरुले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि आवश्यक सहयोग गरिदिन अध्यक्ष प्रचण्डसँग आग्रह गरेका छन् ।
आइतबार अध्यक्ष प्रचण्डको निवास ललितपुरको खुमलटार पुगेर महिला पत्रकारहरुले सगरमाथा आरोहणको इतिहासमा नै नयाँ कीर्तिमान राख्ने किसिमले आरोहण गर्न गइरहेको भन्दै सरकार र पार्टीकातर्फबाट आवश्यक सहयोगका लागि अध्यक्ष समक्ष आग्रह गरेका हुन् ।
‘फस्र्ट वुमेन जर्नालिष्ट्स एभरेष्ट एक्सपेडिसन २०१८’ अभियान अन्तर्गत आउँदो अप्रिलमा सगरमाथा आरोहणको तयारीमा रहेको महिला पत्रकारहरुको समूहले सरकारबाट रोयल्टी छूटदेखि अन्य सहयोगका लागि अनुरोध गरेका हुन् ।
नेपाल टेलिभिजनमा कार्यरत रोजिता बुद्वाचार्यको नेतृत्वको टोलीले अध्यक्ष प्रचण्डसमक्ष समूहगतरुपमा महिला पत्रकारहरुले आरोहण गर्न लागेको पहिलो घटना हुने र दीगो विकासको झण्डा सगरमाथामा फहर्याउने बताएका थिए ।
अध्यक्ष प्रचण्डले युवा पत्रकारिता पेशामा संलग्न युवा महिला पत्रकारहरुको सगरमाथा आरोहणबाट महिलाहरुको सशक्तिकरणदेखि अन्य क्षेत्रमा समेत उर्जा प्रवाह गर्ने बताए ।
अध्यक्ष प्रचण्डले युवा उमेरमा सगरमाथाको आरोहण जस्तो चुनौतीपूर्ण काम गर्न खोजेकोमा अग्रीम बधाई दिँदै सरकार र पार्टीका तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने आश्वासन दिएको प्रचण्डको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस