कर्मचारी अभावले सेवाप्रवाहमा कठिनाइ भयो : मुख्यमन्त्री पौडेल

शनिबार, १९ फागुन २०७४, १७ : १३
कर्मचारी अभावले सेवाप्रवाहमा कठिनाइ भयो : मुख्यमन्त्री पौडेल

नुवाकोट । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले कर्मचारी अभावले जनताको सेवाप्रवाह, कार्यसम्पादन, कानून निर्माणमा कठिनाइ भइरहेको बताउनु भएको छ । जिल्ला समन्वय समिति नुवाकोटले आज विदुरमा आयोजना गरेको यहाँका स्थानीय तहका जनप्रतिनिधिसँगको अन्तक्र्रियामा मुख्यमन्त्री पौडेलले केन्द्रबाट प्रदेश र स्थानीय तहमा कर्मचारी नपठाएर आफूहरुलाई असफल बनाउन खोजिएको गुनासो गर्नुभयो ।

“स्थानीयतह स्थापना भएको दश महिना भइसक्यो, प्रदेश सरकार स्थापना गर्न कर्मचारीकै कारण मुख्य समस्या भएको छ ।” मुख्यमन्त्री पौडेलले भन्नुभयो, “कर्मचारी चाहियो भनेर मौखिक र लिखित जानकारी गराउँदा केन्द्रले किन बेवास्था गरेको बुझ्न सकिएको छैन ।”

केन्द्रका कर्मचारीले अधिकार दिन नचाहेको र राजनीतिक नेतृत्वले पनि अधिकार बढी भयो भनिरहेको आवाज एकैसाथ आएकाले आफूहरुलाई असफल बनाउन भएका प्रयास बिफल बनाउन प्रदेश र स्थानीयतहबीचको सम्बन्ध सुमधुर हुनुपर्ने उहाँको भनाइ छ ।
उहाँले काम गर्ने समयमा योजना र आवश्यकताको आधारमा बजेट तर्जुमा गर्न यहाँको जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । अन्तक्र्रियामा भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितले पाएको अधिकार कार्यान्वयन गरी असल चरित्रको भूमिका निर्वाह गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो ।

मुख्यमन्त्री र मन्त्रीलाई यहाँका प्रदेशसभा सदस्य बद्री मैनाली, केशव पाण्डे, आसामाया लामा, जिसस प्रमुख शन्तमान तामाङसहित जिल्लाका स्थानीयतहका प्रमुखले यहाँ सञ्चालनमा रहेका योजना तथा कार्यक्रम एवं भावी रणनीतिको बारे जानकारी दिनुभयो ।(रासस)

 

प्रतिक्रिया दिनुहोस