एउटै पार्टीको सांसद जस्तो प्रस्तुत हुन प्रचण्डको निर्देशन

शनिबार, १९ फागुन २०७४, १६ : ३५
एउटै पार्टीको सांसद जस्तो प्रस्तुत हुन प्रचण्डको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एमाले र माओवादी केन्द्रको संसदीय दलको संयुक्त बैठक इतिहासकै ठुलो क्रम भंग भएको बताएका छन् ।

नेकपा एमाले र माओवादी केन्द्रले संयुक्त रुपमा संघीय संसदमा निर्वाचित सांसदहरुलाई दिएको प्रशिक्षणलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले दुई वटा संसदीय दलको संयुक्त बैठक निरन्तरतामा क्रम भंग भएको बताएका हुन् । उनले एउटै संसदीय दलमा रुपान्तरण हुदै गर्दा त्यसको पूर्व सन्ध्यामा भएको संयुक्त बैठकले नयाँ इतिहास रच्नुको साथै नया ऐतिहासिक प्रक्रिया तर्फ अघि बढाउने बताए ।

प्रचण्डले माओवादी केन्द्र र एमाले एक भएपछि विश्व नै आश्चर्यमा परेको कुरा संसदलाई सुनाए । ‘विश्वबाट कम्युनिष्टहरु समाप्त भइरहेको बेला नेपालमा दुई तिहाई बहुमत ल्याउनु चानचुने कुरा होइन, यसलाई दुनियाँले हेरिरहेको छ’ भन्दै प्रचण्डले अब विकास गरेर देखाउने बेला आएको धारणा राखे ।

आपसमा बैचारिक राजनीतिक संघर्ष र तितो अनुभव संगालेका दल एउटै घोषणपत्र र साझा उम्मेदवारका साथ एउटै संकल्प लिएर निर्वाचनमा जाने विषय सहजै पत्याउन सकिने नभए पनि आफुहरुको एकताले डेढ महिना भित्र ठुलो विश्वविद्यालयको काम गरेको दाबी अध्यक्ष दाहालले गरे । अध्यक्ष दाहालले राजा महाराजाको समयमा जस्तो जनताको मालिक नभई साच्चै जनताको सेवकका रुपमा प्रमाणित गराउने साझा संकल्पका साथ अघि बढ्न सांसदहरुलाई निर्देशन दिए ।

अहिले पुरै संसारको ध्यान आफुहरु तर्फ केन्द्रीत रहेको भन्दै उनले जनताको हित र मुलुकको सम्वृद्धिको लागि एकढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । यो वामपन्थी सरकारले विकास गरेर नमूना प्रस्तुत गर्नुपर्छ र त्यसका लागि सबैले इमान्दारी पूर्वक काम गर्नुपर्ने आग्रह उनले भनेका थिए । ‘एमाले र माओवादी एकीकरण भइसक्यो,’ उनले सांसदलाई सम्बोधन गर्दै भने, ‘व्यवहारिक रुपमा माओवादी र एमाले एकीकरण भइसक्यो, कानुनी मान्यता दिन मात्र बाँकी छ ।’

एउटै पार्टीको सांसद जस्तो प्रस्तुत हुन प्रचण्डले निर्देशन पनि दिए । भेलामा एमालेका नेता सुवास नेम्वाङ्ले संसदमा कसरी प्रस्तुत हुने भन्ने प्रशिक्ष दिएका थिए । उनले कसरी बोल्ने, माइक कसरी प्रयोग गर्ने त्यहाँको मर्यादा कसरी कायम राख्ने जस्ता विषयमा कुरा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस