चिनियाँ एप्समा भारतको प्रतिबन्धपछि चीनद्वारा चासो व्यक्त

एजेन्सी

मंगलबार, १६ असार २०७७, २१ : ३२
चिनियाँ एप्समा भारतको प्रतिबन्धपछि चीनद्वारा चासो व्यक्त

काठमाडौं । भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाएपछि चीनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिचियानले भने , “चिनियाँ एपमाथि भारतद्वारा गरिएको प्रतिबन्धप्रति चीन गम्भीर चासो व्यक्त गर्दछ । हामीले यो कुरामा जोड दिन चाहन्छौँ कि चीन सधैँ आफ्ना व्यवसायीलाई अन्तर्राष्ट्रिय तथा स्थानीय कानूनको पालना गर्न आग्रह गर्दै आएको छ र भारतले पनि चिनियाँ लगायत अन्तर्राष्ट्रिय लगानीकर्ताको कानूनी अधिकारको संरक्षण गर्ने जिम्मेवारी रहन्छ ।” 

उनले चिनियाँ कम्पनीलाई स्थानीय र अन्तर्राष्ट्रिय कानुनअनुसार चल्न निर्देशन दिँदै आएको बताउँदै भारतले गैर–जिम्मेवारपूर्ण काम गरेको सङ्केत गरे । 

विश्वका उदीयमान अर्थतन्त्रका रूपमा हेरिने चीन र भारतबीच सिमावर्ती क्षेत्रमा केही हप्ता पहिले तनाव देखिएको थियो । यद्यपि त्यस क्षेत्रमा अहिले तनाव नियन्त्रणमा आएको दुबै देशका अधिकारीहरूले बताउँदै आएका छन् । 

चीनले भारतीय सेना अनधिकृतरुपमा आफ्नो भूमीमा प्रवेश गरेकाले कारबाही गर्नुपरेको बताउँदै आएको छ । त्यस्तै भारतीय पक्षले चीनको दावीलाई खण्डन गर्दै आएको छ ।