मन्त्री पाण्डेको घर पछाडि राखिएको बम निस्कृय

मंगलबार, ०५ मंसिर २०७४, १३ : ५६
मन्त्री पाण्डेको घर पछाडि राखिएको बम निस्कृय

 

चितवन, ५ मंसिर । भरतपुर महानगरपालिका वडा नम्बर २ स्थित बन तथा भू संरक्षण मन्त्री बिक्रम पाण्डेको घर पछाडी अज्ञात समुहले राखेको बम नेपाली सेनाको टोलिले आज बिहान निस्कृय पारेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक प्रभु प्रसाद ढकालका अनुसार दुधको क्यानमा ग्रिनेट राखेर बनाईएको सानो बम सेनाको बम डिस्पोजल टोलिले निस्कृय पारेको हो ।

उहाँका अनुसार बम निस्कृय पार्दा धुवा मात्र आएकाले कम क्षती बनाउने बम राखिएको हो । तर्साउनका लागि बम राखिएको अनुमान प्रहरीले गरेको छ । बिहान सर्बसाधरणले बम देखेपछि प्रहरीलाई खबर गरिएको थियो । पाण्डे चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार हुनुहुन्छ । उहाँको निवासको अगाडि पट्टि आफ्नै रेडियो कालिका एफ एम र टिभि कालिका छ भने पछाडि पट्टि उहाँको आफ्नै कालिका कन्ट्रक्सन रहेको छ । घर र कन्ट्रक्सनको बिचमा नहर रहेको छ । नहरको डिलमा रहेको बाटोमा बम राखिएको थियो । सेनाले पानी नभएको नहरमा बम झारेर निस्कृय पारेको हो ।

 

प्रतिक्रिया दिनुहोस