कोरोना संक्रमण भित्रिन नदिन जिल्ला प्रवेश नाकामा निगरानी बढाइने

सफल खबर संवाददाता

सोमबार, ०३ चैत्र २०७६, १२ : ३६
कोरोना संक्रमण भित्रिन नदिन जिल्ला प्रवेश नाकामा निगरानी बढाइने

तस्बिर : सूर्यप्रकाश कँडेल

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भित्रिन नदिन जिल्ला प्रवेश नाकामा निगरानी बढाउने भएको छ । 

कोरोनाविरुद्ध पूर्वतयारी, प्रकोप न्यूनीकरण र जनजीवनलाई सामान्य बनाउने विषयमा भएका कामबारे जानकारी दिन सोमबार भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा यस्तो बताइएको हो ।

चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले कोरोना भाइरसबाट संक्रमित व्यक्तिहरु जिल्लामा प्रवेश गर्न सक्ने विमानस्थल, राजमार्ग र अन्य सीमा नाकामा निगरानी बढाइने बताए । कहीँ कतै कोरोना संक्रमणका शंकास्पद बिरामी भेटिए तत्काल सुरक्षितरुपमा आइसोलेसन वार्ड भएका स्वास्थ्य संस्थामा पठाइने प्रजिअ भट्टराईको भनाइ छ ।

आइसोलेसन वार्ड थप्ने तयारी

कोरोना भाइरसका शंकास्पद र संक्रमित बिरामीको उपचारका लागि जिल्लाका सबै अस्पतालमा आइसोलेसन वार्ड राख्ने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘जिल्लामा रोगको संक्रमण व्यापक भएको खण्डमा शंकास्पद व्यक्तिहरुलाई राख्न सकिने गरी आइसोलेसन वार्ड थप्नेबारे पूर्वतयारी भइरहेको छ’ प्रजिअ भट्टराईले भने, ‘निजी अस्पतालहरुमा कम्तीमा दुई शैया र दुई वटा मेडिकल कलेज र भरतपुर अस्पतालमा दुई बेड आईसीयूसहित २०–२० शैयाको आइसोलेसन वार्ड बनाउने तयारीमा छौँ ।’

बजारमा सर्जिकल मास्कको माग ह्वात्तै बढेकोले आपूर्ति सहज हुन नसकेको तर खाद्यान्न र अन्य उपभोग्य बस्तुको अभाव हुन नदिन अनुगमनलाई तिब्रता दिइएको प्रजिअ भट्टराईले बताए । जिल्लाभित्रका एम्बुलेन्सलाई जुन ठाउँको लागि अनुमति लिएको हो, त्यही ठाउँमा तयारी अवस्थामा राख्न लगाइएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस