‘बी’ डिभिजन लिग : अजितको ह्याट्रिकमा आरसिटी विजयी

शुक्रबार, ३० फागुन २०७६, २१ : २०
‘बी’ डिभिजन लिग : अजितको ह्याट्रिकमा आरसिटी विजयी

काठमाडौं । अजित गुरुङको ह्याट्रिकमा शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आजको खेलमा रानी पोखरी कर्नर टिम (आरसिटी) विजयी भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आरसिटीले मध्यपुर युथ एसोसिएशनलाई ३–० गोलले पराजित गरेको हो । लिगको पाँचौँ चरणमा आरसिटीले पहिलो जीत निकालेको हो ।

खेलको नवौँ मिनेटमा अजितले पहिलो गोल गरेका थिए । पहिलो हाफमा आरसिटीले १–० गोलको अग्रता लिएको थियो । आरसिटीका लागि अजितले दोस्रो हाफमा थप दुई गोल गरे । उनले खेलको ४९औँ मिनेटमा तथा ९०औँ मिनेटमा गोल गरेका थिए । जीतसँगै आरसिटीले पाँच खेलबाट पाँच अङ्क जोडेर सातौँ स्थानमा उक्लिएको छ । मध्यपुर एक अङ्कका साथ लिगको ११औँ स्थानमा छ ।

‘बी’ डिभिजन लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको शीर्षटोली ‘ए’ डिभिजनमा उक्लिनेछ । पुछारमा रहने टोली ‘सी’ डिभिजनमा घटुवा हुनेछ । ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लब, श्री भगवती क्लब, टुसाल क्लब, खुमलटार युथ क्लब, नयाँ बस्ती युवा क्लब, झम्सिखेल युवा क्लब, आरसिटी क्लब, सातदोबाटो युथ क्लब, मध्यपुर युथ एसोसिएशन, पुल्चोक स्पोर्टस् क्लब र बाँसबारी सहभागी छन् । ‘बी’ डिभिजन लिग विजेताले रु १५ लाख पुरस्कार प्राप्त गर्नेछ । (रासस)

प्रतिक्रिया दिनुहोस