हङकङ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको अवस्थामा घरमा कुकुर–बिरालोजस्ता जनवार पालेर बसेकाहरुलाई थप चिन्ता थपिएको छ । आफ्नो घरमा रहेका घरपालुवा जनावरलाई कोरोना भाइरस त लाग्दैन ? उनीहरुबाट कोरोना भाइरस आफूलाई त सर्दैन ?
गत शुक्रबार हङकङको एग्रिकल्चर, फिसरिज एण्ड कन्जरभेसन डिपार्टमेन्ट (एएफसीडी) ले कुकुरको नाक र मुखबाट संकलन गरिएको स्याम्पल परीक्षण गर्दा नोभेल कोरोनाभाइरस ‘विक (कमजोर) पोजेटिभ’ देखिएको थियो । विश्वभर कुकुरमा कोरोना भाइरस पोजेटिभ देखिएको यसलाई पहिलो घटना मानिदै थियो ।
कोरोना भाइरसको कुनै लक्षण नदेखिए पनि कुकुरलाई क्वारेन्टाइनमा राखिएको थियो । परीक्षणमा नेगेटिभ नदेखिएसम्म उसलाई क्वारेन्टाइनमा नै राखिनेछ । विभागले कोरोना भाइरस संक्रमित भएका व्यक्तिको घरपालुवा जनावरलाई पनि १४ दिन क्वारेन्टाइनमा राख्न ‘कडा’ सुझाव दिएको थियो ।
यसका बावजुद एएफसीडी र विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसबाट कुकुर या बिरालो संक्रमित भएको कुनै प्रमाण नभेटिएको बताएको छ । कुकुरमा कोरोना भाइरसको परीक्षण गर्दा पोजेटिभ देखिनै बित्तिकै ऊ संक्रमित भएको भन्ने हुँदैन ।
कुकुरमा किन पोजेटिभ देखियो ?
हामीलाई अहिलेसम्म कोरोना भाइरस कुनै सतह र वस्तुमा बाँच्न सक्छ भन्ने थाहा छ । तर, अनुसन्धानकर्तालाई यो कति समय बाँच्न सक्छ भन्ने यकिन छैन । चीनमा यही कुरा ठूलो तनावको विषय बनेको छ । जसले गर्दा त्यहाँको केन्द्रीय बैङ्कले त्यहाँको चलनचल्तीमा रहेको नोटलाई डिस्इन्फेक्ट गर्ने देखि नष्ट गर्नेसम्मको कदम चालेको छ ।
यसरी नै कुकुर या बिरालोलाई संक्रमित नगरी उनीहरुको सतहमा पनि कोरोनाभाइरस बस्न सक्छ । अहिले एएफसीडीले उक्त कुकुर कोरोना भाइरस संक्रमित नै बनेको हो या भाइरसबाट दूषित भएको भन्ने यकिन गर्दैछ ।
‘हालसम्मको प्रमाणले कोरोना भाइरस फैलाउन ढोकाको ह्यान्डलभन्दा कुकुर, बिरालो कम जोखिमपूर्ण देखिएको छ’ लाइफलङ एनिमल प्रोटेक्सन च्यारिटीकी संस्थापक शिला म्याक्लेलेन्डले हङकङका अधिकारीहरुलाई पत्र लेख्दै जानकारी गराएकी छिन् । विश्वमा हालसम्म कुकुर र बिरालोलाई संक्रमण फैलिरहेको कारोना भाइरस लागेको पुष्टि भएको छैन ।
के घरपालुवा जनावरले तपाईंलाई कोरोनाभाइरस सार्न सक्छ ?
सन् २००३ मा सार्स रोग फैलिँदा पनि घरपालुवा जनावरबारे यस्तै चिन्ता व्यक्त भएको थियो । त्यतिबेला हङकङमा २ सय ३० जनाभन्दा बढीले ज्यान गुमाएका थिए । विज्ञहरु सार्स र कोभिड–१९ दुवैको उत्पत्ति चमेरोबाट भएको विश्वास गर्छन् ।
कुकुर र बिरालो कोरोनाभाइरसबाट दूषित हुन सक्ने भए पनि सबै कोरोनाभाइरस एउटै नहुने हङकङको मुख्य भेटनरी सर्जन जेन ग्रे बताउँछिन् । यसपटकको संक्रमण फरक भएको उनको भनाइ छ ।
सन् २००३ मा कोरोनाभाइरसकै एक प्रकार रहेको सार्सको संक्रमण फैलिदा पनि वैज्ञानिकहरुले कुकुर बिरालोबाट यो फैलन सक्ने सम्भावना न्यून रहेको बताएका थिए । ग्रेका अनुसार सार्सका दौरान थोरै बिरालोमा भाइरस देखिए पनि त्यो मानिसमा सरेको पाइएको थिएन ।
यूएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार अहिलेसम्म कोरोनाभाइरस मानिसबाट मानिसमा मात्र सरेको पाइएको छ । मानिस नजिक हुँदा वा खोक्दा वा हाँच्छ्यिु गर्दा यो सरेको पाइएको छ ।
के घरपालुवा जनवारलाई पनि क्वारेन्टाइनमा राख्ने त ?
ग्रेका अनुसार वैज्ञानिकको दृष्टिकोणबाट यो आवश्यक छ किनभने हामीलाई अझै कम जानकारी रहेको यो भाइरसले जनावरमा कस्तो असर गर्छ भन्ने जान्न आवश्यक छ ।
‘सुन्नमा यो डरलाग्दो लाग्न सक्छ । तर, यो पूर्णरुपमा पूर्वसावधानीको उपायका लागि मात्र हो । यसबाट घरमा कुकुर बिरालो पाल्नेहरु आत्तिहाल्नु पर्ने स्थिति छैन,’ उनले भनिन् ।
अत्तालिनुभन्दा पनि कुकुरा बिरालो पाल्ने मालिकले सामान्य व्यक्तिगत स्वच्छतामा ध्यान दिनुपर्ने उनी बताउँछिन् ।
विश्व स्वास्थ्य संगठनले पनि आफ्नो घरपालुवा जनावरलाई छोए पछि राम्रोसँग साबुन पानीले हात धुन सुझाव दिएको छ । अझ बाहिर घुमाएर ल्याएपछि कुकुर–बिरालोको पञ्जालाई एन्टिसेप्टिक वाइपले पुछ्दा पनि हुन्छ । तर, यो कुरा बढी पनि गर्नुहुँदैन किनभने धेरै पुछ्दा कुकुरको पञ्जा सुख्खा हुन जान्छ ।
भेटेनरी विज्ञ र पशुअधिकारकर्मीहरु अहिले जनावरबाट कोरोनाभाइरस फैलिने चिन्ताभन्दा पनि डर फैलिने चिन्ता बढी रहेको बताउँछन् ।
(सीएनएनबाट)
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, २० फागुन २०७६, १७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप ल्याइँदै
हावाबाट कोरोना फैलिएको विश्व स्वास्थ्य संगठनको स्विकारोक्ति
कोरोना भाइरसविरुद्धको खोप विसर्जन गरिँदै
नेपालमा कोभिडको नयाँ भेरियन्ट नभित्रिएको स्वास्थ्य मन्त्रालयको भनाइ
भारतको ११ राज्यमा फैलियो कोरोना भाइरसको नयाँ भेरियन्ट
भारतमा भेटियो कोरोनाको नयाँ भेरियन्ट