काठमाडौंका होर्डिङ् बोर्ड, भित्तेलेखन तथा पर्चा पम्प्लेट हटाउने कामलाई तीव्रता दिइयो

सफल खबर संवाददाता

शुक्रबार, ११ पुस २०७६, १५ : ५०
काठमाडौंका होर्डिङ् बोर्ड, भित्तेलेखन तथा पर्चा पम्प्लेट हटाउने कामलाई तीव्रता दिइयो

काठमाडौं । बाह्य बिज्ञापनका लागि राखिएका होर्डिङ् बोर्ड, भित्तामा टाँसिएका पर्चा पम्प्लेट, भित्तेलेखनलगायत सहरी दृश्य प्रदुषण हुने प्रचार सामाग्री हटाउने कामलाई काठमाडौं महानगरले तीब्रता दिएको छ । यसै क्रममा शुक्रबार बबरमहल, तीनकुने र कालीमाटी क्षेत्रका ठूला बोर्ड हटाइएको नगर प्रहरी महाशाखा प्रमुख नगर प्रहरी नायब उपरीक्षक धनपति सापकोटाले जानकारी दिनुभयो । 

काठमाडौं धार्मिक, सांस्कृतिक र पर्यटकीय सहर हो । यसको मौलिकता बचाउनु महानगरको जिम्मेवारी हो । हामी बिगतदेखि नै यस प्रकारका बोर्डको नियमन गर्दै थियौं, उहाँले थप्दै भन्नुभयो— नेपाल पर्यटन बर्ष २०२० लाई लक्षित गरेर अहिले नियमन कार्यलाई तीब्र बनाएका हौं । महानगरले २०७० सालमा जारी गरेको बिज्ञापन सामाग्री नियमन गर्ने कार्यबिधिलाई पूर्ण कार्यान्वयन गर्ने हाम्रो अभियान हो, सापकोटाले सहरी सौन्दर्यीकरणमा महानगरले गरिरहेको कामका बारेमा जानकारी दिँदै भन्नुभयो — भित्तेलेखन, पोल र भित्तामा टाँसिएका पर्चा पम्प्लेट, व्यानरलगायत सहरलाई कुरुप बनाउने सबै सामाग्री हटाउँदैछौं । 

हिजो (पुष १० बिहीबार) गृहमन्त्री रामबहादुर थापाको उपस्थितिमा सरोकारवाला निकायका अधिकारीबीच सहरी सुन्दरता कायम गर्ने काममा सघाउ पु¥याउन सबै पक्षलाई आग्रह गरिएको थियो । यसप्रकारका प्रचार सामाग्रीसँगै अव्यवस्थित रुपमा राखिएका टेलिफोन, केवल तथा इन्टरनेट सेवा प्रदायकका तार हटाउन सार्वजनिक सूचना जारी गर्ने बैठकले निर्णय गरेको छ । तोकिएको समयभित्र तार नहटाए सरकार आफैंले तार हटाउनेछ । 

बैठकमा गृहमन्त्री थापाले भन्नुभयो ‘सर्वोच्च अदालतले यस प्रकारका प्रदुषण हटाउन यस अघि नै आदेश दिइसकेको छ । अहिले हामी पर्यटन बर्षको संघारमा छौं । सहरलाई सुन्दर बनाउन र कुरुपताबाट बचाउन अब ढिलाई गर्नुहुँदैन ।’ 
त्यस अवसरमा महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले महानगरले सहरी सुन्दरता कायम गर्ने कामलाई नियमित गरेको जानकारी दिँदै यसलाई तीब्र बनाइने बताउनुभएको थियो । 

सहरलाई सुन्दर बनाउन होर्डिङ् बोर्ड मात्र व्यवस्थापन गरेर पुग्दैन, भित्तेलेखन, पर्चा, पोष्टर, पम्प्लेट सबै हटाउनु पछ । सहरी दृश्य प्रदुषण हटाउन परामादेशको माग गर्दै सर्वोच्च जानुभएका अधिवक्ता पदमबहादुर श्रेष्ठ भन्नुहुन्छ ‘महानगरको रेकर्ड भएका प्रचार सामाग्रीलाई बिधिअनुसार व्यवस्थापन गर्नुपर्छ । अभिलेखमा नआएका बिजुलीको पोल, भित्ता तथा अन्य सार्वजनिक ठाउँ वा सार्वजनिक ठाउँबाट देखिने ठाउँका सबै प्रकारका प्रचार सामाग्री हटाउनुपर्छ ।’ 

प्रतिक्रिया दिनुहोस