संसदको हिउँदे अधिवेशन आज देखि, उपसभामुखले नै अध्यक्षता गर्ने

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०७६, ०९ : ००
संसदको हिउँदे अधिवेशन आज देखि,  उपसभामुखले नै अध्यक्षता गर्ने

file photo

काठमाडौं । संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुदैछ । अपराह्न ४ बजे दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को संयुक्त बैठक राष्ट्रपति विद्यादेवी भण्डारीको आव्हानमा बस्न लागेको हो । निवर्तमान सभामुख कृष्णबहादुर महराले बलात्कार प्रयासको आरोपमा राजीनामा दिएपछि संसद सभामुख बिहिन छ ।

संसदमा सभामुख बिहिन भएको ८२ दिन पुगिसक्दा पनि नयाँ सभामुख चयन हुन नसकेको र सभामुखले गर्ने काम उपसभामुखले गर्ने प्रष्ट ब्यवस्था संसद नियमावलीमा नभएका कारण अधिवशेनको अध्यक्षता कसले गर्लान् भन्ने अन्यौलका बीच उपसभामुखले नै आजको बैठकको अध्यक्षता गर्ने भएकी छिन् ।

नेकपाले सभामुख लिनका लागि उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने तयारी गरेको छ । त्यही कारण पनि उनले राजीनामा दिने र आजको बैठकको अध्यक्षता जेष्ठ सदस्यका हैसियतले महन्थ ठाकुरले गर्ने चर्चा चलेपनि तुम्बाहाम्फेले अधिवेशन शुरु भएको बैठकको अध्यक्षता आफैले गर्न चाहेपछि अब उनैले गर्नेछिन्  ।

बैठकको सुरुमा दुवै सदनमा राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् आव्हान सम्बन्धी पत्र बाचन गरेर सुनाइने कार्यक्रम छ । प्रतिनिधिसभामा तुम्बाहाम्फे र राष्ट्रिय सभामा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिबाट प्राप्त पत्र वाचन गरेर सुनाउने छन् ।

राष्ट्रिय सभाको बिहीबार बिहान ११ बजे कार्यव्यवस्थाको बैठक बसेर अधिवेशनको पहिलो दिनको कार्यसूची तय गरेको छ । राष्ट्रिय सभाको पहिलो दिनको सम्भावित कार्यसूचीमा दलीय आधारमा संसदीय दलका नेताहरूले स्वागत मन्तव्य राख्ने उल्लेख छ । स्वागत मन्तव्यपछि मन्त्रिपरिषद्को गठनसम्बन्धी राष्ट्रिपतिको कार्यलयबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ । मंसिर ५ मा सरकारले मन्त्रिपरिषद् पुर्नगठन गरेको थियो ।

राष्ट्रिय सभाले शुक्रबार विभिन्न चार जना पूर्व सांसदहरुको निधनमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची पनि तय गरेको छ । प्रतिनिधिसभा बैठकको कार्यसूची भने तय हुन बाँकी छ ।  प्रतिनिधि सभाको कार्यब्यवस्थाको बैठक शुक्रबार दिउँसो १ बजे बस्नेछ । संसद बैठक अगाडी संसदको सबैभन्दा ठूलो दल नेकपाले आजै दिउँसो २ बजे वानेश्वरमा संसदीय दलको बैठक बोलाएको छ । काँग्रेस दलको बैठक हिजै बसेको थियो ।
 

प्रतिक्रिया दिनुहोस